काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली संकलनको काम आजदेखि पुनः सुरु हुने भएको छ।
निर्वाचन आयोगले गत मङ्सिर ६ गते प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नामावली संकलन कार्य स्थगित गरेको थियो। आयोगको यही चैत १८ को बैठकले उक्त कार्य पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।
आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त नेपाली नागरिकले आफ्नो विवरण प्रयोग गरी अनलाइन माध्यमबाट मतदाता नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ।
राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएका व्यक्तिले आयोगको ‘प्रि इनरोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भर्नुपर्नेछ। साथै फोटो तथा औँठाछापसहितको जैविक विवरणका लागि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा आवेदक स्वयं उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ।
मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्ने लगायतका कार्यहरूका लागि पनि अनलाइन आवेदन प्रणाली उपलब्ध छ।
प्रवक्ता भट्टराईका अनुसार, मतदाता नामावलीमा नाम, ठेगाना, मतदान स्थल स्थानान्तरण र नागरिकतासम्बन्धी विवरण सच्याउन सकिनेछ।
निर्वाचन आयोगले सम्पूर्ण नागरिकलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।
द टन न्युज – विशेष रिपोर्ट