अमेरिकाज सम्मेलनको तयारी तीव्र, ‘समृद्धिका लागि विश्वभरका नेपाली एकजुट बनाऔँ’- आरसि भुवन खरेल
टोरन्टोमा अप्रिल २४ र २५ मा हुने १०औँ क्षेत्रीय सम्मेलनमा नागरिकता, १० करोड डलर लगानी, कृषि, जलविद्युत् र दोस्रो पुस्ताका मुद्दा प्राथमिकतामा
काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको १०औँ क्षेत्रीय सम्मेलनको तयारी तीव्र पारिएको छ। आगामी २०२७ अप्रिल २४ र २५ मा क्यानडाको टोरन्टोमा आयोजना हुने सम्मेलनलाई उपलब्धिमूलक र परिणाममुखी बनाउने लक्ष्यसहित आयोजक पक्षले तयारीलाई व्यापक बनाएको हो।
‘समृद्धि : Connecting for Prosperity’ नारासहित आयोजना हुने सम्मेलनको तयारीको नेतृत्व अमेरिकाज क्षेत्रीय संयोजक (आरसी) भुवन खरेलको टिमले गरिरहेका छन्। सम्मेलनलाई केवल औपचारिक भेला वा नियमित संस्थागत कार्यक्रमका रूपमा नभई विश्वभर छरिएका नेपालीको पुँजी, ज्ञान, सीप, प्रविधि र अनुभवलाई नेपालको समृद्धिसँग जोड्ने साझा मञ्चका रूपमा विकास गर्ने खरेलको तयारी छ।
खरेलले अमेरिकाज क्षेत्रसहित विश्वभर रहेका एनआरएनए अभियन्ता, नेपाली समुदाय, व्यवसायी, विज्ञ, युवा तथा दोस्रो पुस्ताका नेपालीलाई सम्मेलनमा सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्। उनका अनुसार सम्मेलनको सफलता सहभागिताको संख्यामा मात्र नभई त्यसबाट उठाइने विषय र त्यसको कार्यान्वयनमा निर्भर हुनेछ।
सम्मेलनका लागि मूल तयारी समिति गठन भइसकेको छ। आर्थिक व्यवस्थापन, सूचना प्रविधि, प्रचारप्रसार, अतिथि सत्कार तथा व्यवस्थापनलगायतका क्षेत्रमा छुट्टाछुट्टै जिम्मेवारी बाँडफाँट गरेर तयारीलाई अघि बढाइएको छ। आयोजक पक्षले सम्मेलनमा अमेरिकाज क्षेत्रका राष्ट्रिय समन्वय परिषद्, एनआरएनए अभियन्ता, व्यवसायी, विज्ञ तथा नेपाली समुदायको उल्लेख्य सहभागिता गराउने तयारी गरेको छ।
खरेलको प्राथमिकतामा सम्मेलनको सबैभन्दा महत्वपूर्ण विषय नेपालको आर्थिक समृद्धिसँग प्रवासी नेपालीको प्रत्यक्ष सहभागिता हो। विदेशमा रहेका नेपालीको पुँजी नेपालमा भित्र्याउने, लगानीको वातावरण सुधार गर्ने, उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्ने र त्यसबाट रोजगारी सिर्जना गर्ने विषयलाई सम्मेलनको मूल बहसमा ल्याउने तयारी गरिएको छ।
सम्मेलनमा करिब १० करोड अमेरिकी डलर बराबरको लगानी तथा सहकार्यको सम्भावनालाई समेत प्राथमिकतामा राखिने भएको छ। गैरआवासीय नेपालीले नेपालमा लगानी गर्न खोज्दा देखिने नीतिगत, प्रशासनिक तथा कानुनी जटिलता पहिचान गर्दै समाधानका लागि सरकार र निजी क्षेत्रसँग संवाद गर्ने तयारी छ।
खरेलको दृष्टिमा प्रवासी नेपालीलाई केवल रेमिट्यान्स पठाउने समुदायका रूपमा हेर्ने परम्परागत सोच बदलिनुपर्छ। उनीहरू लगानीकर्ता, उद्यमी, प्राविधिक, विज्ञ र विकास साझेदारका रूपमा नेपालसँग जोडिनुपर्ने उनको धारणा छ।
यसैगरी, नेपालमा गैरआवासीय नेपालीको लगानी विस्तारका लागि जलविद्युत्, कृषि, पर्यटन, प्रविधि तथा अन्य उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखिनेछ। विशेषगरी जलविद्युत् क्षेत्रमा प्रवासी नेपालीको सामूहिक लगानी विस्तार गर्न सकिने सम्भावनाबारे सम्मेलनमा बहस गर्ने तयारी छ।
कृषिमा समेत प्रवासी नेपालीको लगानी र प्रविधि भित्र्याउने विषयलाई खरेलले महत्व दिएका छन्। गुल्मीको आँपचौरमा सुरु गरिएको कफी खेतीलाई विस्तार गर्दै उत्पादन, प्रशोधन, ब्रान्डिङ र अन्तर्राष्ट्रिय बजारसँग जोड्ने अवधारणालाई सम्मेलनमा थप बहसको विषय बनाउने तयारी छ। स्थानीय उत्पादनलाई प्रवासी नेपालीको बजार सञ्जालसँग जोडेर कृषि क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्न सकिने आयोजकको विश्वास छ।
सम्मेलनको अर्को महत्वपूर्ण एजेन्डा नागरिकता हुनेछ। गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनसँगै विदेशमा रहेका नेपालीको वंशजको नागरिकतासम्बन्धी सरोकारलाई पनि सम्मेलनमा प्राथमिकताका साथ उठाउने तयारी छ। नागरिकता, सम्पत्ति, लगानी तथा नेपालसँगको कानुनी सम्बन्धमा देखिएका व्यावहारिक समस्याबारे सरकारको ध्यानाकर्षण गराउने उद्देश्य राखिएको छ।
खरेलले विशेषगरी विदेशमा जन्मिएर हुर्किएका दोस्रो पुस्ताका नेपालीलाई नेपाल र एनआरएनए अभियानसँग जोड्नुपर्नेमा जोड दिएका छन्। दोस्रो पुस्ता नेपाली समुदायको भविष्य भएकाले उनीहरूलाई संस्थाको नेतृत्व, नीति निर्माण, उद्यमशीलता र सामाजिक अभियानमा सहभागी गराउनुपर्ने उनको धारणा छ।
दोस्रो पुस्तासँग रहेको आधुनिक ज्ञान, प्रविधि र विश्वव्यापी अनुभवलाई नेपालसँग जोड्ने तथा उनीहरूमा नेपालप्रतिको भावनात्मक र व्यावहारिक सम्बन्ध बलियो बनाउने विषयमा पनि सम्मेलनमा छलफल गरिनेछ।
सम्मेलनमा सरकार र प्रवासी नेपालीबीच प्रत्यक्ष संवादको वातावरण बनाउने तयारीसमेत गरिएको छ। नीति निर्माण तहका प्रतिनिधि, व्यवसायी, विज्ञ र एनआरएनए अभियन्तालाई एउटै मञ्चमा ल्याएर नागरिकता, लगानी, रोजगारी, कृषि, जलविद्युत्, प्रविधि र दोस्रो पुस्ताका विषयमा ठोस छलफल गर्ने आयोजकको योजना छ।
आरसी खरेलले सम्मेलनलाई अमेरिकाज क्षेत्रको मात्र कार्यक्रमका रूपमा नहेर्न आग्रह गरेका छन्। उनका अनुसार विश्वका विभिन्न देशमा रहेका नेपालीबीच रहेको ज्ञान, पुँजी र सीपलाई एकीकृत गर्दै नेपालसँग जोड्न सके त्यसले नेपालको आर्थिक विकासमा दीर्घकालीन प्रभाव पार्न सक्छ।
उनले विश्वभरका एनआरएनए अभियन्ता र नेपाली समुदायलाई टोरन्टोमा हुने सम्मेलनमा सहभागी भएर आफ्नो अनुभव, सुझाव र लगानीको सम्भावनासहित साझा समृद्धिको अभियानमा जोडिन आग्रह गरेका छन्।
‘समृद्धि : Connecting for Prosperity’ नाराले पनि यही अवधारणालाई प्रतिनिधित्व गर्छ। प्रवासी नेपाली र नेपालबीचको सम्बन्धलाई भावनात्मक सम्बन्धमा मात्र सीमित नराखी लगानी, ज्ञान, प्रविधि, उत्पादन र उद्यमशीलताको साझेदारीमा रूपान्तरण गर्ने लक्ष्य सम्मेलनको देखिन्छ।
सम्मेलनको तयारी तीव्र भइरहेका बेला अमेरिकाज क्षेत्रीय संयोजक खरेलले अघि सारेका एजेन्डाले सम्मेलनलाई नियमित औपचारिक कार्यक्रमभन्दा फरक बनाउने संकेत गरेको छ। नागरिकताको सवालदेखि १० करोड डलर बराबरको सम्भावित लगानी, कृषि र जलविद्युत्देखि दोस्रो पुस्ताको सहभागितासम्मका विषय एउटै मञ्चमा उठाउने तयारीले टोरन्टो सम्मेलनलाई आगामी दिनमा एनआरएनए र नेपालको सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्ने अवसरका रूपमा हेरिएको छ।
अब चुनौती भनेको सम्मेलनमा उठाइएका विषयलाई घोषणापत्र र छलफलमै सीमित नराखी कार्यान्वयनयोग्य योजनामा रूपान्तरण गर्नु हो। खरेलको नेतृत्वमा भइरहेको तयारीले यही चुनौतीलाई अवसरमा बदल्ने प्रयास गरिरहेको छ।