एनआरएनएका पाँच पूर्वअध्यक्ष एकै ठाउँमा, सभामुख अर्याललाई दोहा सम्मेलनको प्रमुख अतिथिका लागि संयुक्त निमन्त्रणा

theoutsidenepal.com

एनआरएनएका पाँच पूर्वअध्यक्ष एकै ठाउँमा, सभामुख अर्याललाई दोहा सम्मेलनको प्रमुख अतिथिका लागि संयुक्त निमन्त्रणा

पूर्वअध्यक्ष आरके शर्माको पहलमा उपेन्द्र महतो, जीवा लामिछाने, विनोद कुँवर र बद्री केसीसहितको टोलीद्वारा सभामुखसँग भेटवार्ता; संस्थाको भावनात्मक एकता, श्रमिक अधिकार र लगानीका विषयमा छलफल

द टन न्युज | विशेष रिपोर्ट

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पाँच पूर्वअध्यक्षले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त भेटवार्ता गर्दै कतारको दोहामा आयोजना हुन लागेको नवौँ एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन–२०२६ मा प्रमुख अतिथिका रूपमा सहभागी हुन औपचारिक निमन्त्रणा दिएका छन्।

पूर्वअध्यक्ष आरके शर्माको सक्रियतामा भएको उक्त भेटवार्तामा संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्षहरू जीवा लामिछाने, विनोद कुँवर र बद्री केसी सहभागी थिए। उनीहरूले सभामुख अर्याललाई सम्मेलनको औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गर्दै सम्मेलनमा गरिमामय उपस्थितिका लागि आग्रह गरेका हुन्।

यस भेटलाई एनआरएनएभित्र संस्थागत एकता, आपसी सहकार्य र साझा उद्देश्यलाई प्राथमिकता दिने प्रयासका रूपमा हेरिएको छ।

भावनात्मक एकताका लागि पूर्वअध्यक्षहरूको साझा पहल

पूर्वअध्यक्ष आरके शर्माले लामो समयदेखि एनआरएनएभित्र असमझदारी र विभाजनभन्दा माथि उठेर भावनात्मक एकता कायम गर्नुपर्ने धारणा राख्दै आएका छन्। शनिबारको संयुक्त भेटवार्ता पनि पूर्वअध्यक्षहरूबीचको एकतालाई व्यवहारमा उतार्दै संस्थालाई भावनात्मक रूपमा एकताबद्ध र सुदृढ बनाउने अभियानको एउटा महत्वपूर्ण प्रयासका रूपमा रहेको बताइएको छ।त्यसैगरी एनआरएनए आईसीसीकी उपाध्यक्ष रोजीना प्रधान राई पनि सहभागी थिन । 

सभामुखसँगको भेटअघि पूर्वअध्यक्षहरू महेश श्रेष्ठ, रविना थापा र कुल आचार्यसँग समेत संवाद तथा समन्वय गरिएको शर्माले जानकारी दिएका छन्। उनीहरू विदेशमा रहेकाले प्रत्यक्ष उपस्थित हुन नसके पनि सबै पक्षको भावना समेटेर संयुक्त रूपमा निमन्त्रणा हस्तान्तरण गरिएको उनको भनाइ छ।

एनआरएनए साझा संस्था हो, अनावश्यक राजनीति हुनु हुँदैन : सभामुख

भेटका क्रममा सभामुख डोलप्रसाद अर्यालले एनआरएनए सबै नेपालीको साझा संस्था भएकाले यसलाई बलियो र एकताबद्ध बनाउनुपर्ने धारणा राखेका थिए।

उनले संस्थाभित्र अनावश्यक राजनीतिक हस्तक्षेप हुन नहुने उल्लेख गर्दै एनआरएनएको स्थापनाकालीन पवित्र उद्देश्य र त्यसको व्यावहारिक कार्यान्वयनबीच पछिल्लो समय देखिएको अन्तरप्रति दुःख व्यक्त गरेको बताइएको छ।

संस्थालाई यसको मूल उद्देश्यअनुसार अघि बढाउन र विश्वभर रहेका नेपालीको साझा हितमा केन्द्रित हुन उनले सुझाव दिएका थिए।

उपेन्द्र महतोद्वारा अभिभावकीय भूमिकाको अपेक्षा

भेटवार्तामा संस्थापक अध्यक्ष उपेन्द्र महतोले स्वर्गीय सुवास नेम्वाङले विगतमा एनआरएनएप्रति निर्वाह गरेको अभिभावकीय भूमिकाको स्मरण गरेका थिए।

उनले एकताबद्ध एनआरएनएका लागि सभामुख अर्यालबाट पनि त्यस्तै अभिभावकीय भूमिका र मार्गदर्शनको अपेक्षा गरिएको बताएका थिए।

मध्यपूर्वका श्रमिकको अधिकार र रेमिट्यान्सको योगदान प्राथमिकतामा

भेटका क्रममा पूर्वअध्यक्ष आरके शर्माले नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारी तथा विदेशमा रहेका नेपालीले पुर्‍याउँदै आएको योगदानबारे सभामुखको ध्यानाकर्षण गराएका थिए।

उनले नेपाल भित्रिने कुल विप्रेषणको करिब ८० प्रतिशत हिस्सा मध्यपूर्वलगायतका क्षेत्रबाट आउने गरेको उल्लेख गर्दै वैदेशिक रोजगारी तथा स्वरोजगारमा संलग्न लाखौँ नेपाली श्रमिकको हक, हित, सुरक्षा र सम्मानलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए।

विदेशमा रहेका नेपाली श्रमिकका समस्या, चुनौती र सम्भावनालाई गम्भीरतापूर्वक सुनेर नीतिगत तहबाट शीघ्र सम्बोधन गर्न उनले सभामुखसमक्ष आग्रह गरेका थिए।

१० अर्बको लगानी परियोजना र समृद्ध नेपालको लक्ष्य

त्यसैगरी, विदेशमा रहेका नेपालीको ज्ञान, सीप, अनुभव र पुँजीलाई नेपालको राष्ट्रिय विकाससँग जोड्ने विषयमा समेत छलफल भएको थियो।

पूर्वअध्यक्ष शर्माले साना तथा सामूहिक लगानीका अवसरलाई प्रोत्साहन गर्दै १० अर्ब रुपैयाँको लगानी परियोजनामार्फत समृद्ध नेपाल निर्माणमा एनआरएनएको सहकार्यलाई पुनः सक्रिय बनाउनुपर्नेमा जोड दिएका थिए।

यसका लागि सरकार र एनआरएनएबीच नीतिगत संवाद, सहकार्य र लगानीमैत्री वातावरण निर्माण आवश्यक रहेको उनको भनाइ थियो। आगामी मध्यपूर्व सम्मेलनमा सभामुखको अमूल्य मार्गदर्शन र गरिमामय उपस्थितिका लागि समेत उनले अनुरोध गरेका थिए।

डिसेम्बर ११ र १२ मा दोहामा ‘सहयात्रा–२०२६’

गैरआवासीय नेपाली संघ, मध्यपूर्व क्षेत्रीय समितिको आयोजनामा नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारको राजधानी दोहामा आयोजना हुँदैछ।

‘सुरक्षित श्रम आप्रवासन, समृद्ध भविष्य, एनआरएनएको अभियान’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको सम्मेलनले नेपाल सरकार र एनआरएनएबीचको सहकार्यलाई थप सुदृढ बनाउने लक्ष्य राखेको मध्यपूर्व संयोजक रमेश श्रेष्ठले जानकारी दिएका छन्।

सम्मेलनमा मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका अधिकार, सुरक्षित श्रम आप्रवासन, सामाजिक सुरक्षा, आर्थिक तथा सामाजिक हित, प्रवासी नेपालीको लगानी र नेपालसँगको सम्बन्धलगायतका महत्वपूर्ण विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

एनआरएनएका पाँच पूर्वअध्यक्षको संयुक्त उपस्थितिमा सभामुखलाई निमन्त्रणा हस्तान्तरण गरिनुले सम्मेलनलाई संस्थागत एकता र साझा उद्देश्यसँग जोड्ने प्रयासलाई थप चर्चामा ल्याएको छ।

‘सहयात्रा–२०२६’ अब केवल क्षेत्रीय सम्मेलनमा सीमित नरही विश्वभरका नेपालीलाई एकताको सूत्रमा जोड्ने, श्रमिकको आवाजलाई नीतिगत तहसम्म पुर्‍याउने र प्रवासी नेपालीको ज्ञान, सीप तथा पुँजीलाई नेपालको समृद्धिसँग जोड्ने साझा अभियानका रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया