टोकियोमा म्हः पूजा र नेपाल संवत् ११४७ को भव्य स्वागत, नेवार समुदायमा उत्साह
द टन न्युज | विशेष रिपोर्ट
टोकियो, जापान। जापानको राजधानी टोकियोमा म्हः पूजा तथा नेपाल संवत् ११४७ को शुभारम्भ हर्षोल्लास र सांस्कृतिक उत्साहका साथ मनाइएको छ। विदेशमा रहेर पनि आफ्नो मौलिक भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षण गर्ने उद्देश्यसहित नेवार समुदायले विशेष महत्त्वका साथ म्हः पूजा तथा नयाँ वर्ष मनाएको हो।
आफ्नो शरीर, आत्मा र जीवनको पूजा गरी सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि तथा दीर्घायुको कामना गरिने म्हः पूजा नेवार समुदायको मौलिक सांस्कृतिक पर्व हो। यस पर्वले व्यक्तिलाई आफ्नै अस्तित्व, आत्मसम्मान र जीवनको महत्त्व बुझाउने विशेष सन्देश बोकेको छ।
नेपाल संवत् ११४७ को नयाँ वर्ष प्रारम्भ भएसँगै टोकियोमा रहेका नेपाली तथा नेवा: समुदायका सदस्यहरूले एकआपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गरेका थिए।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. बलराम श्रेष्ठले म्हः पूजा तथा नेपाल संवत्को ऐतिहासिक, सांस्कृतिक र सामाजिक महत्त्वबारे प्रकाश पार्नुभएको थियो।
म्हः पूजाले मानिसलाई आफ्नै शरीर र आत्माको सम्मान गर्न प्रेरित गर्दै सकारात्मक सोच, आत्मशुद्धि, आत्मसम्मान र दीर्घजीवनको कामना गर्ने सांस्कृतिक परम्परालाई जीवन्त राखेको छ।
विदेशमा रहेर पनि नेपाली मौलिक संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने यस्ता कार्यक्रमले नेपाली समुदायबीच आपसी सद्भाव, एकता र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
नेपाल संवत् ११४७ को शुभारम्भसँगै विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली तथा नेवा: समुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना!
न्हूदँया भिंतुना!
द टन न्युज परिवार