नेपाली कांग्रेसका प्रभावशाली नेता डा. अबुल हुसेन अन्सारीद्वारा कांग्रेस परित्याग, एमाले प्रवेशको घोषणा

theoutsidenepal.com

काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. अबुल हुसेन अन्सारीले नेपाली कांग्रेस परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्ने घोषणा गर्नुभएको छ। लामो समय कांग्रेस राजनीतिमा सक्रिय रहनुभएका अन्सारीले कांग्रेसभित्र बढ्दो किचलो, स्वार्थ केन्द्रित राजनीति र वैचारिक विचलनका कारण आफू निराश बनेको बताउँदै पार्टी त्याग्ने निर्णय गरेको स्पष्ट गर्नुभएको हो।

सार्वजनिक रूपमा जारी गरिएको आफ्नो धारणा (स्टाटस) मार्फत अन्सारीले जीवनको ऊर्जाशील समय नेपाली कांग्रेसमै खर्चिएको उल्लेख गर्दै राजनीतिका अनेक उतार–चढाव कांग्रेसमै रहेर पार गरेको बताउनुभयो। तर पछिल्लो समय कांग्रेसले लोकतन्त्रको मर्म र बीपी कोइरालाको सिद्धान्त बिर्सँदै गएको अनुभूति भएको भन्दै ठूलो दुःख र भारी मनका साथ पार्टी छाड्न बाध्य भएको उहाँको भनाइ छ।

सुनसरीमा आफूहरूले सधैँ बाहिरबाट आउने आगन्तुकलाई नेता मान्ने प्रवृत्ति हावी रहेको र स्थानीय योगदानको उचित मूल्याङ्कन कहिल्यै नभएको गुनासो पनि अन्सारीले व्यक्त गर्नुभयो। यही कारण आगामी निर्वाचनमा नेकपा एमालेमा प्रवेश गरी सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ बाट चुनाव लड्ने घोषणा गर्नुभएको छ।

डा. अन्सारीले नेकपा एमालेले आफूलाई सम्मानसाथ पार्टी प्रवेश गराई विश्वास व्यक्त गरेको भन्दै एमालेको भरोसा र जनताको आशा कहिल्यै मर्न नदिने प्रतिबद्धता जनाउनुभयो। उहाँले सधैँ एमाले, जनता र लोकतान्त्रिक गणतन्त्रको सपना साकार पार्न क्रियाशील रहने संकल्पसमेत व्यक्त गर्नुभएको छ।

अन्त्यमा अन्सारीले नेपाली कांग्रेससँगको सम्बन्धलाई भावुक रूपमा टुंग्याउँदै “अन्तिम पटक जय नेपाल” र “लाल सलाम” भन्दै आफ्नो राजनीतिक यात्राको नयाँ अध्याय सुरु भएको संकेत दिनुभएको छ।

प्रतिक्रिया