काठमाडौं । काठमाडौं प्रहरी परिसर कार्यालयमा आज बिहानैदेखि विभिन्न प्रयोजनका लागि फाराम बुझाउन आउने सेवाग्राहीको ठूलो भिड लागेको छ। बिहान कार्यालय खुल्नुअघि नै परिसर आसपास लामो लाइन देखिएको छ।
प्रहरी सेवासँगसम्बन्धित सिफारिस, प्रमाणपत्र, रोजगारी, निवेदन तथा अन्य प्रशासनिक कामका लागि फाराम बुझाउन आएका नागरिकहरू घण्टौँसम्म लाइनमा बस्न बाध्य भएका छन्। भिड बढेसँगै परिसरभित्र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ।
सेवाग्राहीहरूका अनुसार पर्याप्त काउन्टर नहुँदा र फाराम बुझाउने प्रक्रिया ढिलो हुँदा समस्या थपिएको हो। “बिहान ६ बजेदेखि लाइनमा बसेको हुँ, तर अझै पालो आएको छैन,” एक सेवाग्राहीले गुनासो गरे।
प्रहरी परिसर स्रोतका अनुसार पछिल्लो समय विभिन्न सूचना र आह्वान सार्वजनिक भएपछि फाराम बुझाउनेको संख्या एकाएक बढेको हो। सीमित जनशक्ति र स्रोतसाधनका कारण सबै सेवाग्राहीलाई छिटो सेवा दिन कठिनाइ भएको जनाइएको छ।
भीड नियन्त्रण र सेवा प्रवाह सहज बनाउन अतिरिक्त काउन्टर सञ्चालन गर्ने तथा लाइन व्यवस्थापन कडा बनाइने तयारी गरिएको प्रहरीको भनाइ छ। साथै, सम्भव भएसम्म अनलाइन प्रणालीमार्फत फाराम बुझाउने व्यवस्था विस्तार गर्नेबारे पनि छलफल भइरहेको जनाइएको छ।
हाल परिसरमा सुरक्षाकर्मी परिचालन गरी लाइन व्यवस्थापन गरिएको छ भने सेवाग्राहीलाई धैर्य गर्न अनुरोध गरिएको छ।