कर्तव्यकै क्रममा ज्यान गुमाएका प्रहरी निरीक्षक अभय लामा प्रति उच्चस्तरीय श्रद्धाञ्जली

theoutsidenepal.com

कर्तव्यपालनाको क्रममा सवारी दुर्घटनामा परी ज्यान गुमाएका प्रहरी निरीक्षक स्व. अभय लामा प्रति आज उच्चस्तरीय श्रद्धाञ्जली अर्पण गरिएको छ।


गृहमन्त्री सुधन गुरुङ, प्रहरी महानिरीक्षक दान बहादुर कार्की लगायत प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूले स्व. लामाको योगदानप्रति सम्मान व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन्।


श्रद्धाञ्जली कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले राष्ट्र र जनताको सुरक्षाका लागि कर्तव्यनिष्ठ रूपमा खटिँदा ज्यान गुमाउनु ठूलो क्षति भएको उल्लेख गरे। उनले स्व. लामाको त्याग र समर्पणले सम्पूर्ण सुरक्षा निकायलाई प्रेरणा दिने बताए।


प्रहरी महानिरीक्षक कार्कीले स्व. लामा एक इमान्दार, कर्तव्यपरायण र अनुशासित प्रहरी अधिकृत रहेको स्मरण गर्दै संगठनले एक सक्षम र समर्पित जनशक्ति गुमाएको बताए। उनले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै राज्यको तर्फबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे।


उक्त अवसरमा उपस्थित सम्पूर्ण प्रहरी अधिकारी तथा कर्मचारीहरूले स्व. अभय लामाको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरेका थिए।


राष्ट्रसेवामा समर्पित जीवन बिताएका स्व. अभय लामाको योगदान सधैं स्मरणीय रहने विश्वास व्यक्त गरिएको छ।


प्रतिक्रिया