नयाँ शक्तिमाथि प्रश्न—पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चेतावनी

theoutsidenepal.com

द टन न्युज ,काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समय नेपाली राजनीतिमा उदाउँदै गरेका नयाँ शक्तिहरूप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन्। उनले विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्री बालेन शाह नेतृत्वको नयाँ पुस्ताको राजनीतिलाई लक्षित गर्दै अनुभवहीन नेतृत्वले देशको स्थायित्वमा असर पार्न सक्ने संकेत गरेकी हुन्।


उनका अनुसार अहिले “नयाँ पात्रहरूको उदय” भइरहेको भए पनि अनुभवको अभावले राष्ट्रिय परिस्थिति, एकता र स्वाभिमानमा ठूलो प्रश्न खडा गरेको छ। “अनुभवविहीन पात्रहरूको आगमनले देशको सार्वभौमिकता, जनजीविका र नागरिकले प्राप्त गरेका मौलिक हकहरू नै जोखिममा पर्न सक्छन्,” उनले उल्लेख गरिन्।


भण्डारीले लोकतन्त्र र नागरिक अधिकारको भविष्यप्रति समेत चिन्ता व्यक्त गर्दै भनिन्, “हामीले प्राप्त गरेको मौलिक हक, स्वतन्त्रता र लोकतन्त्रको भविष्य के हुने भन्ने प्रश्न अहिले टड्कारो बनेको छ।”


उनको यो अभिव्यक्ति वर्तमान राजनीतिक परिदृश्यमा पुराना र नयाँ शक्तिबीचको बहसलाई थप चर्काउने संकेतका रूपमा हेरिएको छ। नयाँ राजनीतिक दल र नेतृत्वले परिवर्तनको एजेन्डा अघि बढाइरहेका बेला अनुभवी नेताहरूबाट यस्तो चेतावनी आउनुलाई अर्थपूर्ण रूपमा लिइएको छ।


प्रतिक्रिया