सान फ्रान्सिस्कोमा भव्य रूपमा हुँदै “नेपाल डे परेड–२०२६”, सहभागी हुन विष्णु खत्रीको आग्रह
अमेरिकाको San Francisco मा आगामी मे १० तारिख आयोजना हुन लागेको “नेपाल डे परेड–२०२६” लाई लक्षित गर्दै एनआरएनए एनसीसी अमेरिकाका पूर्व पश्चिम क्षेत्रीय संयोजक Bishnu Khatri ले सम्पूर्ण नेपाली समुदायलाई सहभागी हुन हार्दिक आग्रह गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा नेपाली समुदायलाई एकताबद्ध भएर आफ्नो पहिचान, संस्कृति र राष्ट्रिय गौरवलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गर्न आह्वान गरेका हुन्।
कार्यक्रम मे १०, आइतबार बिहान ११ बजे San Francisco City Hall मा भेला भएर सुरु हुनेछ भने दिउँसो १२ बजे परेड प्रारम्भ हुने जनाइएको छ। परेडको रुट Civic Center Plaza हुँदै Embarcadero Plaza सम्म रहनेछ। आयोजकका अनुसार करिब दिउँसो २ बजे समापन हुने परेडपछि सांस्कृतिक प्रस्तुति तथा विशेष समारोह पनि आयोजना गरिनेछ।
विष्णु खत्रीले परिवार, साथीभाइ तथा सम्पूर्ण नेपाली समुदायलाई नेपाली मौलिक पोशाकमा उपस्थित भई नेपाल र नेपालीको पहिचान झल्काउन अनुरोध गरेका छन्।
कार्यक्रमले अमेरिकामा रहेका नेपालीबीच आपसी सद्भाव, एकता र सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ।