सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित

theoutsidenepal.com

काठमाडौं — प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याललाई सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।


गत शुक्रबार सभामुख पदका लागि मनोनयन दर्ता गर्ने कार्यतालिका रहेकोमा अर्यालको मात्रै उम्मेदवारी परेको थियो। अन्य दलहरूले उम्मेदवारी नदिएपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।


प्रतिनिधिसभाको नियमावलीको नियम ७ अनुसार सभामुख पदमा एक जनाको मात्रै मनोनयन दर्ता भएमा समर्थक सदस्यको भनाइपछि अध्यक्षता गर्ने व्यक्तिले सो उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्ने व्यवस्था छ।


आजको बैठकमा सभामुख चयनको मिति तय गरिएको थियो र सोही प्रक्रिया अनुसार अर्याललाई निर्विरोध निर्वाचित घोषणा गरिएको हो।


हाल २७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट बहुमतको अवस्थामा छ। रास्वपाका १८२ सांसद छन् भने नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेपाल कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ सांसद रहेका छन्।


सत्तापक्षको स्पष्ट बहुमतका कारण प्रतिपक्षी दलहरूले सभामुख पदमा उम्मेदवारी नदिँदा अर्याल निर्विरोध निर्वाचित भएका हुन्।


प्रतिक्रिया