फाइभ स्टार होटलमा सांसद अभिमुखीकरणप्रति आशिका तामाङको असन्तुष्टि, भनिन्– “पहिले थाहा भएको भए कार्यक्रममा जाने थिइनँ”
आशिका तामाङ ले सांसदहरूको अभिमुखीकरण कार्यक्रम फाइभ स्टार होटलमा आयोजना गरिएको विषयप्रति सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले संसद्भित्र पर्याप्त सभाहल हुँदाहुँदै बाहिर महंगा होटलमा कार्यक्रम गर्नु आवश्यक नरहेको टिप्पणी गरेकी हुन्।
उनले संसद् सदस्यहरूलाई प्रशिक्षण वा अभिमुखीकरण कार्यक्रम गर्न सिंहदरबारभित्र नै पर्याप्त सभाहल रहेको उल्लेख गर्दै बाहिर होटल वा अन्य स्थानमा कार्यक्रम गर्नुको औचित्यमाथि प्रश्न उठाएकी छन्। “फाइभ स्टार होटलमा कार्यक्रम गर्नुपर्ने बाध्यता के थियो ? त्यसको खर्च कसले हिसाब गर्ने ?” भन्दै उनले खर्च पारदर्शितामाथि समेत प्रश्न उठाएकी छन्।
सुरक्षाको कारण देखाएर महंगा होटलमा कार्यक्रम आयोजना गरिएको हो भने “सांसदहरूलाई सुरक्षा एक दिनका लागि मात्र चाहिने हो र ?” भन्ने प्रश्नसमेत उनले उठाएकी छन्। परिवर्तन, मितव्ययिता र फजुल खर्च नियन्त्रणको कुरा गर्नेहरू व्यवहारमा भने पुरानै शैली दोहोर्याइरहेको उनको संकेत थियो।
आफ्नो स्टाटसमा उनले स्पष्ट रूपमा लेखेकी छन्, “Tuplin होटल फाइभ स्टार हो भन्ने पहिले थाहा पाएको भए म त्यो अभिमुखीकरण कार्यक्रममा जाँदै जाने थिइनँ।”
उनको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा सांसदहरूको कार्यक्रम खर्च, मितव्ययिता र राज्य संयन्त्रभित्र हुने खर्च व्यवस्थापनबारे बहस सुरु भएको छ।