दमक–१ मा प्रधानमन्त्रीको संसद सचिवालय सञ्चालन, जनगुनासो सुन्ने प्रतिबद्धता
दमक — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता भेषराज भट्टराईले सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको संसद सचिवालय दमक–१ मा औपचारिक रूपमा सञ्चालनमा आएको जानकारी दिएका छन्।
आजदेखि सञ्चालनमा आएको उक्त सचिवालयमार्फत निर्वाचनका क्रममा गरिएका प्रतिबद्धताहरूको कार्यान्वयन, जनगुनासाहरूको प्रभावकारी सम्बोधन तथा समग्र प्रशासनिक व्यवस्थापनलाई थप सुदृढ बनाइने जनाइएको छ। यसै सन्दर्भमा आज आयोजित पहिलो बैठकमा सचिवालयको कार्यप्रणाली, सेवा प्रवाह र जनसम्पर्कलाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको बताइएको छ।
नेता भट्टराईका अनुसार नागरिकहरूले आफ्ना गुनासा, सुझाव तथा आवश्यक परामर्शहरू सम्बन्धित वडा सभापति, पालिका सभापति वा सिधै सचिवालयमा उपस्थित भई आधिकारिक सम्पर्क व्यक्तिमार्फत पेश गर्न सक्नेछन्।
सचिवालयले सधैं जनताको सेवा, सुशासन र समस्याको शीघ्र समाधानप्रति प्रतिबद्ध रहने उल्लेख गरिएको छ।