पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ

theoutsidenepal.com

 काठमाडौं । काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

रिजाल जेनजी आन्दोलनको समयमा काठमाडौंका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका थिए। पछिल्लो समय भने उनी गृहमन्त्रालयमा प्रशासन महाशाखा प्रमुखको रूपमा कार्यरत रहँदा विभिन्न विवादमा तानिएका थिए।

अनुसन्धानमा संलग्न निकायका अनुसार, तत्कालीन गृहमन्त्री रमेश लेखकको कार्यकालमा प्रशासन महाशाखा प्रमुख रहेका रिजालमाथि कर्मचारीहरूलाई अध्यागमन तथा अन्य आकर्षक कार्यालयहरूमा सरुवा गर्दा ‘पेशागत आचरण विपरीत’ काम गरेको आरोप लागेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पठाएको विवरणमा पनि रिजालमाथि भ्रष्टाचारसम्बन्धी आरोपमा अनुसन्धान भइरहेको उल्लेख गरिएको छ। उक्त विवरणमा गृहमन्त्रालयभित्रको सरुवा प्रक्रियामा अस्वाभाविक गतिविधि भएको संकेत गरिएको छ।

यस प्रकरणमा गृहमन्त्रीका निजी सचिव बद्री तिवारी, स्वकीय सचिव जनक भट्ट, गृहसचिव गोकर्णमणि दुवाडी तथा अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराईसँगको ‘सेटिङ’ र अस्वाभाविक गतिविधिबारे पनि अनुसन्धान भइरहेको जनाइएको छ।

स्रोतका अनुसार, विभिन्न व्यक्तिहरूको नाम उल्लेख भएको डायरी लगायतका प्रमाणहरू समेत फेला परेको र त्यसका आधारमा थप अनुसन्धान अघि बढाइएको छ।

हाल रिजाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ। उनीमाथि अनुसन्धान जारी रहेकाले थप खुलासा हुने अपेक्षा गरिएको छ।

यस घटनाले गृहमन्त्रालयभित्रको सरुवा प्रणाली, अध्यागमन कार्यालयको व्यवस्थापन तथा प्रशासनिक पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया