सुकुम्बासी विस्थापितका लागि दुई दिन निःशुल्क खाना: सरकारद्वारा तत्काल राहत व्यवस्था
सुकुम्बासी बस्ती हटाउने क्रममा विस्थापित भएका नागरिकका लागि सरकारले तत्काल राहत स्वरूप दुई दिनका लागि भोजनको व्यवस्था गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह को सचिवालयले जारी गरेको विज्ञप्तिअनुसार शनिबार र आइतबार स्थानान्तरण भइरहेका सुकुम्बासीलाई प्याकेटमा खाना उपलब्ध गराइनेछ।
बस्ती हटाउने कार्यसँगै खटिएको टोलीले ‘साइट’मै सुकुम्बासीहरूको व्यवस्थापन गर्दै तत्काल राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको जनाएको छ। यसअनुसार विस्थापित भएका परिवारलाई प्राथमिक चरणमा भोजनको समस्या नहोस् भन्ने उद्देश्यले सरकारले प्रत्यक्ष रूपमा खाना वितरण गर्ने तयारी गरेको हो।
सचिवालयका अनुसार पुनःस्थापनाका लागि चयन गरिएका स्थानहरूमा आधारभूत पूर्वाधारको तयारीसमेत गरिएको छ। ती स्थानमा पानी, बिजुली र शौचालयको सुविधा सुनिश्चित गर्न सरसफाइ कार्य सम्पन्न भइसकेको उल्लेख गरिएको छ।
सुकुम्बासीलाई राख्नका लागि चयन गरिएका संरचनाहरू यसअघि नै निर्माण गरिएका हुन्, जसलाई अहिले वास्तविक सुकुम्बासी व्यवस्थापनका लागि प्रयोगमा ल्याउन लागिएको छ।
सरकारको यो कदमलाई विस्थापनसँगै मानवीय पक्षलाई ध्यानमा राखिएको राहत कार्यक्रमका रूपमा हेरिएको छ। बस्ती हटाउने कार्यसँगै तत्काल राहत र पुनर्स्थापनाको प्रक्रिया अघि बढाइने सरकारको तयारी देखिएको छ।