कांग्रेस विभाजन देशका लागि दुर्भाग्यपूर्ण, तर सकारात्मक परिणामको सम्भावना पनि : लोकनाथ अधिकारी

theoutsidenepal.com


काठमाडौं — नेपाली कांग्रेसका युवा नेता तथा व्यवसायी लोकनाथ अधिकारीले कांग्रेसभित्र देखिएको विभाजनलाई देश र पार्टी दुवैका लागि दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अधिकारीले पुरानो नेतृत्वको अनुभव र नयाँ पुस्ताको ऊर्जा समन्वय हुनुपर्नेमा जोड दिएका छन्।


उनले पार्टीभित्र नयाँ पुस्ताको ऊर्जा पन्छाएर विश्राम गर्ने उमेरका नेताहरू नै राजनीतिक प्रतिस्पर्धामा रहिरहन खोज्दा यस्तो अवस्था सिर्जना भएको उल्लेख गरेका छन्। “पुरानाको अनुभव र नयाँको ऊर्जासहित अघि बढ्नुपर्ने कांग्रेसले नयाँको ऊर्जालाई पन्छायो,” अधिकारीले स्टाटसमा लेखेका छन्, “आराम गर्ने उमेरका बृद्धहरू राजनीतिका रेसमा कसरी दौडिन्छन् भन्ने प्रश्न उठ्छ।”


कांग्रेस विभाजनबाट तत्काल क्षति हुने भए पनि कहिलेकाहीँ यस्ता राजनीतिक विभाजनबाट सुखद परिणाम पनि आउने अधिकारीको बुझाइ छ। उनले यसपटक पनि दीर्घकालमा सकारात्मक नतिजा आउने अपेक्षा व्यक्त गरेका छन्।


अधिकारीका अनुसार यो विभाजन लामो समयसम्म टिक्ने सम्भावना कम छ। “पुरानाको चेत खुल्ला हुन्छ र नयाँ पुस्ता पनि बिचलित नभई सबैलाई समेट्ने अभियानमा लाग्नेछन्,” उनले उल्लेख गरेका छन्।


उनले अहिलेको अवस्था राजनीतिक बहसभन्दा पनि कानुनी लडाइँतर्फ मोडिएको टिप्पणी गर्दै जोखिमपूर्ण अवस्थामा साथ दिनेभन्दा टाढा बस्ने प्रवृत्तिप्रति कटाक्ष पनि गरेका छन्। “भिरबाट हामफाल्ने बेला राम–राम भन्न सकिन्छ, काँध थाप्ने कमै हुन्छन्,” भन्दै उनले कांग्रेसभित्र देखिएको अराजनीतिक अभ्यासप्रति असन्तुष्टि जनाएका छन्।


कांग्रेसभित्रको पछिल्लो घटनाक्रमलाई अधिकारीले “राजनीति भित्रको अराजनीति” को संज्ञा दिँदै पार्टीलाई आत्मसमिक्षा र पुनर्मिलनको बाटोमा अघि बढ्न आग्रह गरेका छन्।


प्रतिक्रिया