नागरिकताको लागि ‘मातृभूमिको यात्रा’ अभियान सुरु गर्दै NRN USA

theoutsidenepal.com

द टन न्युज ,काठमाडौं । गैरआवासीय नेपालीहरूको संस्था NRN USA ले “नागरिकताको लागि मातृभूमिको यात्रा” नामक अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। अभियान जुन ८ देखि जुन ३० सम्म सञ्चालन हुने जनाइएको छ।


संस्थाका अध्यक्ष सतेन्द्र शाहले जारी गरेको सन्देशमा जहाँ रहे पनि नेपालीहरूको जरा मातृभूमिमै रहने उल्लेख गर्दै नागरिकता केवल कागजी प्रक्रिया नभई पहिचान, अधिकार र अस्तित्वसँग जोडिएको विषय भएको बताएका छन्।


उनका अनुसार अभियानको उद्देश्य गैरआवासीय नेपालीहरूको नागरिकता अधिकार सुनिश्चित गर्नु, मातृभूमिसँगको सम्बन्धलाई थप मजबुत बनाउनु तथा भावी पुस्ताका लागि पहिचान सुरक्षित गर्नु रहेको छ।


अभियान अन्तर्गत विश्वभर रहेका नेपालीहरूलाई नेपाल आएर सहभागिता जनाउन आह्वान गरिएको छ। “अब समय आएको छ—आफ्नो अधिकार सुनिश्चित गर्न र मातृभूमिसँगको सम्बन्धलाई अझ बलियो बनाउन,” सन्देशमा उल्लेख गरिएको छ।


एनआरएन यूएसएले सबैलाई एकजुट भई उक्त ऐतिहासिक अभियानलाई सफल बनाउन सहभागी हुन आग्रह गरेको छ।


प्रतिक्रिया