सरकारका महत्त्वपूर्ण निर्णय सार्वजनिक, सुरक्षण मुद्रण केन्द्र व्यापारिक प्रतिस्पर्धामा

theoutsidenepal.com

काठमाडौं — सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्दै व्यापारिक कारोबार गर्न पाउने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरिएको जानकारी दिए। यस सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गरिनेछ।


यस निर्णयसँगै सुरक्षण मुद्रण केन्द्रले अब सरकारी काममा मात्र सीमित नभई बजारमा प्रतिस्पर्धात्मक रूपमा सेवा तथा उत्पादन विस्तार गर्न सक्ने बाटो खुल्ने अपेक्षा गरिएको छ।


त्यस्तै, मन्त्रिपरिषद् बैठकले भन्सार नियमावली २०८३ लाई स्वीकृति दिएको छ। नयाँ नियमावलीले भन्सार प्रशासनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने विश्वास गरिएको छ।


यस्तै, बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी बलको प्रमुख (आईजी) पदमा नियुक्त गर्ने निर्णय पनि गरेको छ।


सरकारका यी निर्णयहरू प्रशासनिक सुधार, आर्थिक गतिविधि विस्तार तथा सुरक्षा निकायको नेतृत्व सुदृढ गर्ने दिशामा केन्द्रित रहेको बताइएको छ।


प्रतिक्रिया