एमाले मुख्यालय रहेको च्यासलको तुल्सीलाल स्मृति प्रतिष्ठान खाली गर्न सरकारको निर्देशन
काठमाडौँ । सरकारले भोगाधिकारमा लिइएका सरकारी जग्गा तथा त्यसमाथि बनेका संरचना तत्काल खाली गर्न निर्देशन जारी गरेपछि ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान पनि प्रभावित हुने भएको छ । हाल उक्त प्रतिष्ठानको भवनमा नेकपा एमालेको केन्द्रीय मुख्यालय सञ्चालनमा रहेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति, २०७९’ को दोस्रो संशोधनअन्तर्गत दफा २१ को उपदफा २ बमोजिम सूचना जारी गर्दै भोगाधिकार प्राप्त जग्गालाई समयमै लिज प्रक्रियामा नलग्ने संस्था तथा निकायको अधिकार स्वतः समाप्त भएको जनाएको हो ।
सरकारले जारी गरेको सूचनाअनुसार २०७३ जेठ ३१ र २०७४ वैशाख २१ मा तत्कालीन भूमिसुधार तथा व्यवस्थापन विभागले प्रकाशित गरेको सूचनाको म्यादभित्र लिजमा परिणत गर्न आवेदन नदिने व्यक्ति, संस्था तथा निकायहरूले अब त्यस्तो जग्गा खाली गर्नुपर्नेछ ।
यस निर्णयसँगै तुल्सीलाल स्मृति प्रतिष्ठानले पनि च्यासलस्थित भवन खाली गर्नुपर्ने अवस्था देखिएको छ । प्रतिष्ठानले भवन खाली गरेसँगै त्यहाँ सञ्चालनमा रहेको एमालेको केन्द्रीय कार्यालय पनि स्थानान्तरण हुन सक्ने चर्चा सुरु भएको छ ।
मन्त्रालयले भोगाधिकार सम्झौताअनुसार तिर्न बाँकी रकम भए सरकारी कोषमा दाखिला गर्न तथा सम्बन्धित जग्गा र त्यसमा बनेका संरचना समेत तत्काल खाली गर्न सम्बन्धित सबैलाई निर्देशन दिएको छ ।