काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवारलाई समर्थन गर्ने जनाएको छ।
पार्टीका प्रमुख सचेतक युवराज दुलाल ले सभामुख पदमा उम्मेदवारी नदिने स्पष्ट पार्दै रास्वपाको उम्मेदवारीलाई स्वाभाविक भएको टिप्पणी गरे। “संसदमा दुई तिहाइ बहुमतसहित रहेको रास्वपाले सभामुख पदमा उम्मेदवारी दिनु स्वाभाविक हो, त्यसमा हाम्रो समर्थन रहनेछ,” उनले बताए।
यसअघि नै रास्वपाका उपसभापति डीपी अर्याल ले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराइसकेका छन्। संसदमा बलियो उपस्थितिसहित रास्वपाले नेतृत्व लिने संकेत देखिएको छ।
यता, नेकपाले भने उपसभामुख पदमा आफ्नो दाबी कायम राखेको छ। सहमति जुटेमा उक्त पदमा उम्मेदवारी दिने तयारी रहेको पार्टी स्रोतले जनाएको छ।
संसदको नेतृत्व चयन प्रक्रियामा दलहरूबीच सहमति र शक्ति सन्तुलनको नयाँ समीकरण देखिन थालेको विश्लेषण गरिएको छ।