एफएनसीसीआई कार्यसमिति सदस्यमा निर्वाचित भएपछि पिताम्बर जोशीद्वारा धन्यवाद तथा आभार व्यक्त
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारण सभाबाट सुदूरपश्चिम प्रदेशको तर्फबाट कार्यकारिणी समिति सदस्य पदमा निर्वाचित भएका पिताम्बर जोशीले सम्पूर्ण मतदाता, शुभेच्छुक तथा सहयोगीप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।
जोशीले एक धन्यवाद सन्देश जारी गर्दै प्रत्यक्ष उपस्थित भई, फोनमार्फत, सामाजिक सञ्जाल तथा व्यक्तिगत रूपमा बधाई, शुभकामना र हौसला प्रदान गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेका हुन् । उनले आफूले प्राप्त गरेको माया, विश्वास र समर्थनले थप जिम्मेवार, प्रतिबद्ध र उत्साहित बनाएको उल्लेख गरेका छन् ।
उनले सुदूरपश्चिम प्रदेशको उद्योग, व्यापार तथा व्यवसायिक हितका लागि इमान्दारिता, निष्ठा र सक्रियताका साथ कार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । “समृद्धि र सुशासनका लागि गतिशील निजी क्षेत्र” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै व्यवसायिक विकास, उद्यमशीलता प्रवर्द्धन तथा प्रदेशको आर्थिक समृद्धिका लागि निरन्तर क्रियाशील रहने उनले बताएका छन् ।
जोशीले आगामी यात्रामा समेत सबैको साथ, सहयोग र विश्वासको अपेक्षा गर्दै पुनः सम्पूर्णमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।