विश्वभरका नेपाली युवालाई जोड्ने प्रतिबद्धता : एनआरएनए युवा उपाध्यक्ष उम्मेदवार ओमन गौचन (ह्यान्सन) प्रति बढ्दो समर्थन

theoutsidenepal.com


काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी २०२६–२०२८ कार्यकालका लागि हुने अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) निर्वाचनमा युवा उपाध्यक्ष पदका उम्मेदवार ओमन गौचन (ह्यान्सन) प्रति विश्वभर रहेका नेपाली युवामाझ सकारात्मक चर्चा र समर्थन बढ्दै गएको छ। डिजिटल प्रविधि र अन्तर्राष्ट्रिय नेटवर्कको अनुभव बोकेका गौचनलाई युवाको आवाजलाई विश्वमञ्चमा पुर्‍याउने सक्षम नेतृत्वका रूपमा हेरिएको छ।

विदेशमा बसोबास गर्दै आएका युवा व्यवसायी तथा सामाजिक अभियन्ता गौचनले आफ्नो उम्मेदवारीसँगै विश्वभर रहेका नेपाली युवालाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने योजना सार्वजनिक गरेका छन्। उनले उक्त प्लेटफर्ममार्फत विश्वका विभिन्न देशमा रहेका नेपाली युवाबीच सीप, अनुभव, रोजगारीका अवसर र उद्यमशीलता सम्बन्धी जानकारी आदानप्रदान गर्न सकिने बताएका छन्।

गौचनका अनुसार, “आजको युग डिजिटल कनेक्टिभिटीको युग हो। यदि हामीले विश्वभर रहेका नेपाली युवालाई एउटै प्लेटफर्ममा जोड्न सक्यौं भने उनीहरूको क्षमता नेपाल र नेपाली समुदायका लागि ठूलो शक्ति बन्न सक्छ।”

उनले एनआरएनएलाई केवल औपचारिक संस्था मात्र नभई युवा नेतृत्व, नवप्रवर्तन र अन्तर्राष्ट्रिय अवसरहरूको सेतु बनाउनुपर्ने धारणा राखेका छन्। विशेषगरी विदेशमा रहेका दोस्रो पुस्ताका नेपाली युवालाई पनि एनआरएनएको गतिविधिमा सक्रिय रूपमा सहभागी गराउने आफ्नो प्राथमिकता रहेको उनले बताएका छन्।

एनआरएनएका विभिन्न कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै आएका गौचनले सामाजिक अभियान, युवाको नेतृत्व विकास तथा अन्तर्राष्ट्रिय नेटवर्क विस्तारमा समेत काम गर्दै आएका छन्। यही कारणले धेरै युवाले उनलाई ऊर्जाशील, दूरदर्शी र डिजिटल सोच भएको उम्मेदवार का रूपमा हेर्ने गरेका छन्।

विश्वका विभिन्न देशमा रहेका नेपाली युवाहरूले सामाजिक सञ्जालमार्फत गौचनको उम्मेदवारीलाई स्वागत गर्दै “युवाको आवाज युवाले नै उठाउनुपर्छ” भन्ने सन्देशसहित समर्थन व्यक्त गरिरहेका छन्। कतिपयले एनआरएनएलाई नयाँ सोच र नयाँ पुस्तासँग जोड्न गौचन जस्ता उम्मेदवार आवश्यक रहेको बताएका छन्।

आगामी निर्वाचनमा युवामुखी कार्यक्रम, प्रविधिमैत्री सोच र अन्तर्राष्ट्रिय अनुभवका कारण ओमन गौचन (ह्यान्सन) लाई बलियो प्रतिस्पर्धी उम्मेदवारका रूपमा हेरिएको छ। उनले एनआरएनएलाई विश्वभर रहेका नेपाली युवाको साझा मञ्च बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया