काठमाडौं,नेपाली कांग्रेसको विशेष महाधिवेशन आयोजक समूहले महाधिवेशन प्रतिनिधिहरूको आवास व्यवस्थापनका लागि काठमाडौंका विभिन्न होटलहरूमा करिब १५ सय रुम बुक गरेको छ।
ठमेल, नक्साल, सुन्धारा तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका होटलहरू प्रतिनिधिहरूका लागि बुक गरिएको विशेष महाधिवेशन प्रतिनिधि आवास तथा खानपान व्यवस्थापन समितिका संयोजक रमेश धमलाले जानकारी दिनुभयो।
“आ–आफ्नो निर्वाचन क्षेत्रका तर्फबाट संयोजन गर्ने गरी होटलका रुमहरूमा बसोबासको व्यवस्था मिलाइएको छ,” संयोजक धमलाले बताउनुभयो, “महिला, ज्येष्ठ नागरिक तथा अपांगता भएका प्रतिनिधिहरूका लागि विशेष व्यवस्था गरिएको छ।”
उहाँका अनुसार प्रत्येक निर्वाचन क्षेत्रका लागि ‘पोलिटिकल फोकल पर्सन’ तोक्ने तयारीसमेत भइरहेको छ। “काठमाडौंमा आफ्नै घर भएका वा आफन्तकहाँ बस्न सक्ने प्रतिनिधिहरूलाई त्यसअनुसार व्यवस्थापन गर्न अनुरोध गरिनेछ,” उहाँले थप्नुभयो।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन आयोजना गरिने जनाउँदै प्रतिनिधिहरूलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरेका छन्।
यद्यपि, पार्टीको संस्थापन पक्षले भने विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको दाबी गर्दै आएको छ।
यस सम्बन्धमा कांग्रेस नेता जगदीश्वर नरसिंह केसीले ‘द आउटसाइड नेपाल’ न्युजसँग कुरा गर्दै विशेष महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढिरहेको जानकारी दिनुभएको छ।