काठमाडौं — सुकुम्बासी अधिकारका लागि नेतृत्व गर्दै आएका एक नेतामाथि नै सम्पत्ति सम्बन्धी गम्भीर प्रश्न उठेको छ। सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परियार को काठमाडौं महानगरपालिका–३१, शान्तिनगरस्थित जागृति टोलमा १६ कोठाको तीनतले भव्य घर रहेको तथ्य सार्वजनिक भएको हो।
उक्त घर परियारकी श्रीमती शुभमाया कपाली को नाममा रहेको बताइएको छ। प्राप्त कागजातअनुसार सो घरलाई धितो राखेर बैंकिङ कारोबार गर्ने प्रयास गरिएको समेत देखिएको छ। कपालीले २०७७ सालमा नेपाल बैंक लिमिटेड लाई लेखेको पत्रमा सरकारी पर्ति जग्गामा बनेको उक्त घरको बजार मूल्य ८० लाख रुपैयाँभन्दा बढी रहेको स्वघोषणा गरेको उल्लेख छ।
सुकुम्बासीको हकहितका लागि संघर्ष गर्दै आएको दाबी गर्ने नेतृत्व तहकै व्यक्तिसँग राजधानीमा यस्तो संरचना फेला परेपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ। धेरैले यसलाई “नैतिक द्वन्द्व” को उदाहरण भन्दै पारदर्शिता र छानबिनको माग गरेका छन्।
यस विषयमा सम्बन्धित निकायबाट औपचारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।