भोटेकोशी बाढीपीडितका लागि जनसम्पर्क समिति अमेरिकाले जुटायो १ करोड ५ लाखभन्दा बढी राहत
सभापति मुनिन्द्र नेम्बाङले भने– ‘राष्ट्रिय विपत्तिमा नेपालीको एकता र मानवीय भावना संसारभर देखियो’
द टन न्युज । अमेरिका । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारको सहयोगार्थ नेपाली जनसम्पर्क समिति, अमेरिकाले सञ्चालन गरेको आर्थिक राहत संकलन अभियानबाट १ करोड ५ लाख ३३ हजार ९४४ रुपैयाँ संकलन गरेको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयको निर्देशनअनुसार सञ्चालन गरिएको अभियान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति मुनिन्द्र नेम्बाङले राष्ट्रिय विपत्तिको कठिन घडीमा सहयोग गर्ने सम्पूर्ण नेपालीप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
जनसम्पर्क समिति अमेरिका का युवा मामिला उप संयोजक महेन्द्र बस्नेत ले जानकारी गराउनु भयो ।
सभापति नेम्बाङका अनुसार अमेरिकामा रहेका विभिन्न च्याप्टर समिति, संस्थाका पदाधिकारी तथा सदस्यहरू, शुभेच्छुक, नेपाली समुदाय र स्वेच्छिक रूपमा सहयोग गर्ने दाताहरूको उल्लेखनीय सहभागिताका कारण राहत अभियानले अपेक्षाकृत ठूलो सफलता हासिल गरेको हो।
उनले विपत्तिमा परेका नेपालीको पीडालाई अमेरिकामा रहेका नेपालीहरूले आफ्नै पीडाका रूपमा ग्रहण गर्दै आर्थिक, सामाजिक र मानवीय रूपमा एकजुट भएर देखाएको ऐक्यबद्धता अत्यन्त प्रेरणादायी रहेको बताएका छन्।
नेम्बाङले अभियानलाई सफल बनाउन संयोजक तथा संस्थाका वरिष्ठ उपसभापति विनोद भट्ट, महामन्त्री नारायण खनाल, कोषाध्यक्ष नारायण पोख्रेल, युवा मामिला उपसभापति महेन्द्र बस्नेत, सदस्य हरि खनाललगायत केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूले सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गरेका छन्।
संकलित रु. १,०५,३३,९४४ रकम एकमुष्ट रूपमा ‘नेपाली कांग्रेस विपद् व्यवस्थापन कोष’मार्फत नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पुग्ने गरी जम्मा गरिएको जनाइएको छ।
सभापति नेम्बाङले राहत अभियानलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी ढंगले सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति कृतज्ञता व्यक्त गरेका छन्।
उनले राष्ट्रिय विपत्तिको यस दुःखद् घडीमा अमेरिकामा रहेका नेपालीहरूले देखाएको मानवीय संवेदना, सद्भाव, सहयोग र एकता नेपाली समाजको बलियो पहिचान भएको बताएका छन्।
नेम्बाङको भनाइमा, भोटेकोशी बाढीले नेपाली भूमिमा ठूलो पीडा निम्त्याए पनि त्यस विपत्तिको सामना गर्न स्वदेशदेखि विदेशसम्मका नेपाली एकै ठाउँमा उभिनुले ‘जहाँ नेपाली, त्यहाँ सहयोग र मानवीयता’ भन्ने भावनालाई थप बलियो बनाएको छ।
राहत अभियानमा सहयोग गर्ने प्रत्येक दाता र च्याप्टरप्रति पुनः धन्यवाद व्यक्त गर्दै सभापति नेम्बाङले मानवीय सेवाको यो भावना आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गरेका छन्।
यो सवै विषय बारे “द टन न्युज” संग को कुराकानीमा नेता महेन्द्र बस्नेतले जानकारी दिनु भयो ।