पोखरा–जापान सम्बन्ध थप सुदृढ बनाउने पहल, कोमागाने सिटीमा ‘नेपाली चौतारो’ निर्माणबारे छलफल
द टन न्युज । काठमाडौं ।
पोखरा महानगरपालिका र जापानको कोमागाने सिटीबीच स्थापित भगिनी सम्बन्धलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यसहित महत्वपूर्ण पहल अघि बढाइएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अन्तर्राष्ट्रिय समन्वय परिषद्का वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेटघाट गर्दै नेपाल–जापान सम्बन्ध, पर्यटन प्रवर्द्धन तथा दुई सहरबीचको सहकार्य विस्तारका विषयमा महत्वपूर्ण छलफल गरेका छन्।
भेटका क्रममा जापानको कोमागाने सिटीमा नेपाली पहिचान, संस्कृति र पोखरा–कोमागानेबीचको मित्रताको प्रतीकका रूपमा निर्माण गर्ने योजना रहेको ‘नेपाली चौतारो’ सम्बन्धी कार्यक्रमबारे जानकारी गराइएको थियो। उक्त परियोजनालाई सफल बनाउन आवश्यक सहकार्य, समन्वय र संस्थागत सहयोगका विषयमा समेत छलफल भएको शेरचनले जानकारी दिएका छन्।
त्यसैगरी, पोखराको पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारलाई प्राथमिकतामा राख्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईलगायत अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान सञ्चालन तथा विस्तार गर्नुपर्ने विषयमा पनि विचार आदानप्रदान भएको छ।
पोखरा प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, तालतलैया र साहसिक पर्यटनका कारण अन्तर्राष्ट्रिय पर्यटकका लागि आकर्षक गन्तव्य रहेकाले अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारले पर्यटन क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ।
छलफलमा पोखरा र कोमागानेबीचको भगिनी सम्बन्धलाई औपचारिकतामा मात्र सीमित नराखी पर्यटन, संस्कृति, आर्थिक सहकार्य तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने प्रभावकारी माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ।
जापानमा नेपाली संस्कृति र पहिचानको प्रवर्द्धनसँगै पोखराको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने उद्देश्यले अघि सारिएको ‘नेपाली चौतारो’ अवधारणालाई दुई देशबीचको मित्रताको महत्वपूर्ण प्रतीकका रूपमा हेरिएको छ।
वरिष्ठ उपाध्यक्ष शेरचनले सकारात्मक छलफल र सहकार्यका लागि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यप्रति धन्यवाद व्यक्त गर्दै नेपाल–जापान मित्रतालाई अझ प्रगाढ बनाउन निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
पोखरा–कोमागाने सम्बन्धलाई पर्यटन, संस्कृति र आर्थिक साझेदारीको नयाँ उचाइमा पुर्याउने यस किसिमका पहलले नेपाल र जापानबीचको स्थानीय तहको कूटनीति तथा जनस्तरको सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।