काठमाडौंको शान्ति सुरक्षा र सहर व्यवस्थापनमा महानगर प्रहरीको भूमिका महत्वपूर्ण : आईजीपी कार्की
काठमाडौं । काठमाडौं महानगरपालिकाको शान्ति सुरक्षा तथा व्यवस्थित सहर निर्माणमा महानगर प्रहरीको भूमिका महत्वपूर्ण रहेको नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बताएका छन्।
काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले महानगर प्रहरीले स्थानीय तहको सेवा प्रवाह र सहर व्यवस्थापनमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएको बताए।
उनले सडक तथा फुटपाथ व्यवस्थापन, सार्वजनिक स्थानको अतिक्रमण नियन्त्रण, सार्वजनिक सम्पत्तिको संरक्षण, बजार व्यवस्थापन तथा पार्किङ व्यवस्थापन लगायतका क्षेत्रमा महानगर प्रहरीको सक्रियता उल्लेखनीय रहेको बताए।
आईजीपी कार्कीले महानगर प्रहरी र नेपाल प्रहरीबीचको समन्वय, सहकार्य र आपसी समझदारीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै व्यवस्थित, सुरक्षित र मर्यादित काठमाडौं निर्माणका लागि सबै सुरक्षा निकाय तथा स्थानीय तहबीच सहकार्य आवश्यक रहेको धारणा राखे।
उनका अनुसार महानगर प्रहरीको प्रभावकारी परिचालनले केवल सडक र फुटपाथ व्यवस्थापनमा मात्रै नभई सहरको अनुशासन, सार्वजनिक सम्पत्तिको सुरक्षा र नागरिकमैत्री सेवा प्रवाहमा समेत सकारात्मक योगदान पुर्याउँछ।
वार्षिकोत्सवका अवसरमा महानगर प्रहरी बलले आफ्नो जिम्मेवारी, उपलब्धि तथा आगामी कार्ययोजनाबारे समेत चर्चा गरेको थियो। आईजीपी कार्कीले महानगर प्रहरीका कर्मचारीले निर्वाह गर्दै आएको जिम्मेवारीको प्रशंसा गर्दै आगामी दिनमा अझ व्यावसायिक, अनुशासित र नागरिककेन्द्रित भएर काम गर्न शुभकामना दिए।