‘भगवान पशुपतिनाथले विश्वको कल्याण गरून्, विश्व बुद्धको बाटोमा हिँड्न सकोस्’—प्रधानमन्त्री बालेनको सम्बोधनले एमाले नेतृ मिना श्रेष्ठ प्रभावित
द टन न्युज । काठमाडौं । ९ असोज
प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालका तर्फबाट गरेको सम्बोधनले नेकपा एमालेकी नेतृ तथा कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठको मन छोएको छ।
प्रधानमन्त्री शाहले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै जलवायु परिवर्तन, भोटेकोसी–त्रिशूली बाढीबाट भएको क्षति, जलवायु न्याय, विश्वव्यापी सहकार्य तथा नेपालको अवस्थाबारे धारणा राखेका थिए। सम्बोधनको अन्त्यमा उनले ‘भगवान् पशुपतिनाथले विश्वको कल्याण गरून्। यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्।’ भन्दै आफ्नो मन्तव्य टुंग्याएका थिए।
प्रधानमन्त्रीको यही अन्तिम सन्देशबाट आफू विशेष प्रभावित भएको श्रेष्ठले सामाजिक सञ्जालमार्फत उल्लेख गरेकी छन्।
श्रेष्ठले लेखेकी छन्, “नेपाल प्रेसको लाइभमा प्रधानमन्त्री जी को सम्बोधन सुनिरहेथेँ, अन्तिम लाइन राम्रो थियो, हृदय छोयो । ‘भगवान पशुपतिनाथले सबैको कल्याण गरून्, विश्व बुद्धको बाटोमा हिँड्न सकोस् ।’ बिहानै मन खुशी भयो, धन्यवाद ।”
प्रधानमन्त्री शाहको सम्बोधनमा नेपालले भोगिरहेको जलवायु संकटलाई विश्व समुदायसामु प्रस्तुत गर्दै हिमालय क्षेत्रको संवेदनशीलता र जलवायु न्यायको आवश्यकता उठाइएको थियो। सम्बोधनको अन्तिम भागमा उनले विश्व शान्ति, मानव कल्याण र बुद्धले देखाएको मार्गप्रति नेपालको सांस्कृतिक तथा आध्यात्मिक सन्देशसमेत प्रस्तुत गरेका थिए।
एमाले नेतृ श्रेष्ठको यो प्रतिक्रियाले प्रधानमन्त्री शाहको संयुक्त राष्ट्रसंघीय सम्बोधनलाई लिएर राजनीतिक वृत्तमा देखिएको चासोलाई समेत थप चर्चामा ल्याएको छ।