गोरखा — आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गोरखा–२ मा नेकपा एमालेका उम्मेदवार मिलन गुरुङ चुनावी मैदानमा सक्रिय देखिएका छन्। उनले आफ्नो उम्मेदवारीलाई “गोरखाको भौगोलिक विकास र सम्पूर्ण युवाहरूको आवाज सदनमा बुलन्द पार्ने अभियान” का रूपमा प्रस्तुत गरेका छन्।
गुरुङले विभिन्न चुनावी कार्यक्रम तथा भेटघाटमा गोरखाको पूर्वाधार विकास, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन र युवाको सहभागिता बढाउने मुख्य एजेन्डा अघि सारेका छन्। “गोरखा अब पछाडि होइन, विकासको अग्रपंक्तिमा उभिनुपर्छ,” भन्दै उनले जनताको विश्वास जित्ने दाबी गरेका छन्।
यसैबीच,माओवादी नेता बिबि खरालले मिलन गुरुङको खुलेर प्रशंसा गर्दै भने, “चक्रे मिलनज्यू जनताको हक–हितका लागि लड्ने साहसी नेता हुनुहुन्छ। उहाँसँग त्यो ठाउँको विकास गर्न सक्ने शक्ति र क्षमता छ, त्यसैले उहाँलाई जिताउनुपर्छ।” खरालको यस्तो अभिव्यक्तिपछि चुनावी माहोल झन् तातेको छ।
स्थानीय युवाहरूले पनि गुरुङको अभियानप्रति उत्साह देखाउँदै विकास र रोजगारीका मुद्दामा ठोस योजना ल्याउनुपर्ने माग गरेका छन्। चुनाव नजिकिँदै जाँदा गोरखा–२ को राजनीतिक प्रतिस्पर्धा रोचक बन्दै गएको छ, जहाँ उम्मेदवारहरूले आ–आफ्ना एजेन्डा र प्रतिबद्धता लिएर मतदातामाझ पुगिरहेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार मिलन गुरुङले युवामुखी एजेन्डा र विकासको नारासहित चुनावी मैदानमा प्रभावशाली उपस्थिति देखाउन थालेका छन्, जसले गोरखा–२ को चुनावी समीकरणमा नयाँ चर्चा थपेको छ।