महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कायो—एक टावर भाँचिएपछि पुलको भाग नदीमा बग्यो, आवागमन पूर्णरूपमा बन्द
द टन न्युज । विशेष रिपोर्ट
कञ्चनपुर, १५ असोज ।
कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकालाई जोड्ने झोलुङ्गे पुल महाकाली नदीको बाढीले भत्काएको छ।आज बिहान करिब ८ बजेतिर महाकाली नदीमा आएको बाढीका कारण पुलको एक भाग पूर्णरूपमा भत्किएर नदीमा बगेको हो। प्रत्यक्षदर्शीका अनुसार पुलको एउटा टावर भाँचिएपछि त्यससँग जोडिएको पुलको भागसमेत नदीमा खसेको थियो।
प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौँ नम्बरको भाग तथा दोधारा–चाँदनीतर्फबाट तेस्रो नम्बरको भागभत्किएको हो।
भत्किनुअघि नै पुलको एक भाग अस्वाभाविक रूपमा माथि उठेको थियो
स्थानीयका अनुसार पुल भत्किनुअघि नै यसको एक भाग अस्वाभाविक रूपमा माथि उठेको देखिएको थियो।आज बिहान करिब ४–५ बजेतिर पुलबाट आवतजावत गर्ने स्थानीयले पुलको एउटा भाग अस्वाभाविक रूपमा माथि उठेको देखेका थिए। त्यसबारे प्रहरीलाई समेत जानकारी गराइएको थियो।
तर बिहान करिब ८ बजेतिर माथि उठेको उक्त भाग नदीमा खसेपछि पुलको बीचको भाग भत्किएको र आवतजावत पूर्णरूपमा बन्द भएको स्थानीयले बताएका छन्।
२०६१ सालमा निर्माण सम्पन्न भएको थियो पुल
दोधारा–चाँदनी र भीमदत्तनगरलाई जोड्ने उक्त झोलुङ्गे पुल २०६१ सालमा निर्माण सम्पन्न भएको थियो। लामो समयदेखि स्थानीयको दैनिक आवतजावतको महत्वपूर्ण माध्यमका रूपमा रहेको पुल भत्किएपछि दुई स्थानीय तहबीचको छोटो दूरीको आवागमन प्रभावित भएको छ।
पुलको बीच भाग भत्किएपछि अब दोधारा–चाँदनी र भीमदत्तनगरबीच आवतजावत गर्न स्थानीयले करिब दुई किलोमिटर माथि रहेको पक्की पुलको बाटो प्रयोग गर्नुपर्ने अवस्था आएको बताइएको छ।
महाकाली नदीमा आएको बाढीका कारण पुलमा क्षति पुगेपछि स्थानीयवासीमा त्राससमेत बढेको छ। सम्बन्धित निकायले घटनास्थलको निरीक्षण गरी पुलको क्षतिको अवस्था तथा तत्कालीन आवागमन व्यवस्थापनबारे आवश्यक कदम चाल्नुपर्ने देखिएको छ।
द टन न्युज
विशेष रिपोर्ट