काठमाडौँ — काठमाडौँ क्षेत्र नं. २ मा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी तीव्र बन्दै जाँदा नेकपा (एमाले) का उम्मेदवारहरू जनताको भरोसाका साथ अगाडि बढिरहेका छन्। नेकपा एमाले काठमाडौँ क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ सूर्यध्वजवाहक उम्मेदवार मणिराम फुयाल तथा समानुपातिकतर्फ बुद्धभक्त चित्रकार ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी अत्यधिक बहुमतका साथ विजय हासिल गर्ने लक्ष्य लिएका छन्।
विद्यार्थी आन्दोलनदेखि सामाजिक र जनसेवाका विविध अभियानसम्म सक्रिय रहँदै आएका मणिराम फुयाल काठमाडौँ–२ मा भूगोलले चिनेको, जनतामा भिजेको र स्थानीय रूपमा परिचित नेतृत्वका रूपमा स्थापित छन्। जनताको दुःख–सुखमा सधैँ साथ दिने स्वभाव, बौद्धिक क्षमता, अनुशासित जीवनशैली र स्पष्ट राजनीतिक दृष्टिकोणले उनीप्रति जनविश्वास झन् मजबुत बन्दै गएको देखिन्छ।
स्थानीय विकास, सुशासन, रोजगारी सिर्जना, युवा सशक्तीकरण, शिक्षा र स्वास्थ्यमा पहुँच विस्तारजस्ता विषयलाई प्राथमिकतामा राख्दै फुयालले विकासको ठोस रोडम्याप सार्वजनिक गरेका छन्। उनका अनुसार काठमाडौँ–२ लाई समावेशी, व्यवस्थित र समृद्ध क्षेत्रका रूपमा विकास गर्न दीर्घकालीन योजना आवश्यक छ, जुन एमालेको नीति र नेतृत्वबाट मात्र सम्भव छ।
त्यसैगरी समानुपातिकतर्फका उम्मेदवार बुद्धभक्त चित्रकार पनि इमानदार, अनुभवयुक्त र पार्टीप्रति निष्ठावान नेताका रूपमा परिचित छन्। उनको उम्मेदवारीले काठमाडौँ–२ मा एमालेको संगठनात्मक शक्ति अझ बलियो बनाएको छ।
चुनावी अभियानका क्रममा युवाहरूको उत्साहजनक सहभागिता देखिनु एमालेका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ। “अबको पालो नेकपा (एमाले) को एकल सरकार” भन्ने नारासहित युवाहरूले सूर्य चिन्हमा मतदान गर्न आह्वान गरिरहेका छन्। उनीहरूका अनुसार स्थायित्व, विकास र राष्ट्रिय स्वाभिमानको रक्षा एमाले नेतृत्वको सरकारबाट मात्र सम्भव छ।
स्थानीय बासिन्दाहरू पनि यसपटक परिवर्तन र विकासको पक्षमा मत दिने मनस्थितिमा देखिन्छन्। सूर्य चिन्हमा मतदान गरेर काठमाडौँ–२ मा विकास, अनुशासन र जवाफदेही नेतृत्व स्थापित गर्ने प्रतिबद्धता जनताले व्यक्त गर्न थालेका छन्।
फागुन २१ गते हुने निर्वाचनलाई काठमाडौँ–२ का मतदाताले विकास र स्थायित्वको निर्णायक अवसरका रूपमा लिएका छन्। जनविश्वास, स्पष्ट विचार र बलियो संगठनसहित मैदानमा उत्रिएको नेकपा (एमाले) काठमाडौँ–२ मा सूर्य उदाउने प्रबल सम्भावना देखिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।