झापा — बालेन शाहकी पत्नी सविना काफ्लेलाई सादा पोसाकका महिला प्रहरी खटाइएको भन्ने विषयमा विभिन्न मिडियामा प्रकाशित समाचार असत्य रहेको झापा प्रहरी प्रमुख बसुन्धरा खड्काले स्पष्ट पारेकी छन्।
प्रहरी प्रमुख खड्काका अनुसार उम्मेदवारको पत्नीलाई सिभिल पोसाकमा महिला प्रहरी खटाइएको भन्ने चर्चा निराधार हो। “मिडियामा उम्मेदवारको पत्नीलाई सादा पोसाकमा महिला प्रहरी खटाइएको भन्ने समाचार आयो, तर त्यसमा कुनै सत्यता छैन,” उनले भनिन्।
उनले उम्मेदवारलाई निजी सुरक्षा अङ्गरक्षक (पीएसओ) खटाउने निर्णय जिल्ला सुरक्षा समितिको सिफारिस तथा सुरक्षा जोखिमको मूल्याङ्कनका आधारमा मात्र हुने बताइन्। माग आएर खतरा मूल्याङ्कनपछि आवश्यक ठहरिएमा मात्र पीएसओ उपलब्ध गराइने उनको भनाइ छ।
प्रहरी प्रमुख खड्काले सामान्य अवस्थामा उम्मेदवारको पत्नी घर–गाउँमा हिँडडुल गर्दा सादा पोसाकका प्रहरी खटाउने व्यवस्था नहुने स्पष्ट पारिन्। “त्यस्तो व्यवस्था न त आवश्यक हुन्छ, न त हाम्रो सुरक्षा प्रोटोकलले नै अनुमति दिन्छ,” उनले भनिन्।
सुरक्षासम्बन्धी विषयमा तथ्यविहीन हल्ला र अपुष्ट समाचारले भ्रम सिर्जना गर्ने भएकाले आधिकारिक स्रोतबाट पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न उनले सञ्चारमाध्यमलाई आग्रह गरेकी छन्।