मोरङ । राजनीतिमा कहिलेकाहीँ यस्ता क्षण देखिन्छन्, जहाँ गणनाभन्दा भावना भारी पर्छ, प्रतिस्पर्धाभन्दा मानवता माथि उठ्छ र नाराभन्दा अनुभव बोल्छ। यस्तै दृश्य मोरङ क्षेत्र नम्बर–३ अन्तर्गत पर्ने पथरी शनिश्चरे नगरपालिका वडा नम्बर–४ मा देखिएको छ।
नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनील शर्मा आफ्नो निर्वाचन क्षेत्रका जनतासँग भेटघाटका क्रममा प्रतिस्पर्धी उम्मेदवारको प्रभावशाली वडामा पुगेका थिए। सुरुवाती रूपमा मनमा केही आशंका भए पनि वडा नम्बर–४ मा पाइले टेकेपछि ती सबै आशंका एकाएक मेटिए। त्यहाँको वातावरण डा. शर्माले कल्पना गरेभन्दा बिल्कुल फरक थियो।
स्थानीयबासीहरूले डा. शर्मालाई खुलेर स्वागत गरे। युवायुवतीदेखि ज्येष्ठ नागरिकसम्मले आफ्ना सुख–दुःख सुनाए। धेरैले पहिलो पटक मतदान गर्न लागेको अनुभव सुनाए भने कतिपयले स्पष्ट रूपमा भने,“हामी तपाईंका प्रतिस्पर्धीलाई चिन्ने गर्छौं, तर डा. सुनीलले गरेका मानवीय कामहरू नेपालभर चिनिएका छन्।”
कतिपय स्थानीयको भावुक भनाइ थियो—“हामीले मात्र चिनेको मान्छे होइन, सुनीलले गरेको कामले उहाँलाई चिनाएको छ। उहाँ पहिले पनि जित्नुभएको हो, यसपटक त झन् ढुक्क छ।”
डा. शर्मालाई भेट्दा धेरैको आँखामा विश्वास देखिन्थ्यो। कसैले क्यान्सर उपचारमा पाएको सहयोगको कथा सुनाए, कसैले कठिन समयमा पाएको साथ सम्झिए। आमा, दिदी, बहिनीहरूले आशीर्वाद दिँदै भने,“चुनावको बेला मात्र होइन, हामीलाई त सधैं आफ्नै मान्छेको साथ चाहिन्छ।”
स्थानीयको एकमत स्पष्ट थियो—“छिमेकी भनेर होइन, जसले काम गर्छ, उसैलाई भोट दिने हो। हामीलाई होइन्, राम्रो मान्छेलाई जिताउनुपर्छ।”
डा. शर्माले पनि स्थानीयसँग खुलेर आफ्ना मनका कुरा राखे। उनले स्वीकार गरे,“यहाँ आउँदा अलिक डर लागेको थियो, तर तपाईंहरूको माया, विश्वास र अपनत्वले मलाई झन् जिम्मेवार बनाएको छ।”
स्थानीय पूर्वाधारदेखि स्वास्थ्य सेवासम्म डा. शर्माले गरेको पहलको चर्चा स्थानीयले गर्वका साथ गरे। बाटो निर्माणदेखि बिरामी परेका बेला घरमै पुगेर अस्पताल पुर्याउन सहयोग गरेको प्रसंगले उपस्थित सबैलाई भावुक बनायो। यी सबै काम चुनावी नारामा सीमित नभई, २०७४ को चुनाव हारेपछि पनि निरन्तर जारी रहेको स्थानीयको भनाइ थियो।
पथरी शनिश्चरे नगरपालिका वडा नम्बर–४ का जनतासँगको भेटपछि डा. सुनील शर्माको मनमा रहेको द्विविधा पूर्ण रूपमा हटेको देखिन्थ्यो। अन्त्यमा स्थानीयको एउटै स्वर थियो—“यसपटक पनि काम गर्नेले नै भोट पाउनुपर्छ।”
सायद यही नै राजनीति हो—जहाँ प्रतिस्पर्धीको वडामै पनि कामको प्रशंसा हुन्छ, र मतदाताले स्पष्ट रूपमा भन्छन्—“यसपटक पनि कुराभन्दा काम गर्नेले जित्नुपर्छ।”