मन्त्रीका स्वकीय सचिव नियुक्तिमाथि प्रश्न उठाउँदै प्रिन्स युवराज कार्कीको टिप्पणी
‘अब पुरानालाई गाली गर्नु बेकार छ, जुन जोगी आए पनि कानै चिरेको’
द टन न्युज । काठमाडौं ।
अमेरिकामा रहेर पनि नेपालका समसामयिक राजनीतिक तथा सामाजिक विषयमा चासो राख्दै आएका युवा व्यवसायी एवं समाजसेवी प्रिन्स युवराज कार्कीले बालेन नेतृत्वको सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।
कार्कीले बालेन नेतृत्वको सरकारका मन्त्रीहरूले स्वकीय सचिव नियुक्तिमा मनोमानी गरेको विषयमा प्रकाशित एक पत्रिकाको पहिलो पृष्ठको समाचार सामाजिक सञ्जालमा सेयर गर्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
समाचार सेयर गर्दै उनले लेखेका छन्, “अब पुरानोलाई गाली गर्नु बेकार छ। जुन जोगी आयो पनि कानै चिरेको भनेको यही हो। देश टाट पल्टिसक्यो। हेर यिनीहरूको पारा।”
कार्कीले आफ्नो अभिव्यक्तिमा चर्चित गीत ‘लुट्न सके लुट कान्छा’ को समेत स्मरण गर्दै वर्तमान अवस्थाप्रति व्यंग्यात्मक असन्तुष्टि जनाएका छन्। उनले अन्त्यमा “कठै मेरो देश” भन्दै नेपालप्रतिको आफ्नो चिन्ता र भावनासमेत व्यक्त गरेका छन्।
मन्त्रीका स्वकीय सचिव नियुक्तिसम्बन्धी समाचारलाई आधार बनाएर गरिएको कार्कीको टिप्पणीले नयाँ नेतृत्वबाट समेत पुरानै शैली दोहोरिएको हो कि भन्ने प्रश्न उठाएको देखिन्छ। यद्यपि, स्वकीय सचिव नियुक्तिसम्बन्धी समाचारमा उल्लेखित दाबी र त्यसको आधिकारिक पुष्टि भने सम्बन्धित निकायबाट छुट्टै हेर्नुपर्ने विषय हो।
नेपालबाहिर रहे पनि कार्कीले नेपालका राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर चासो राख्दै आएका छन्। व्यवसायसँगै समाजसेवामा समेत सक्रिय कार्कीको पछिल्लो टिप्पणीले सरकारको कार्यशैली र सार्वजनिक पदमा हुने नियुक्तिको विषयलाई पुनः बहसमा ल्याएको छ।