खलनायक बनेर इतिहासमा हराउन चाहन्नँ, देश सही दिशामा नपुर्याएसम्म विश्राम लिँदिनँ : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू खलनायक बनेर इतिहासको पानामा हराउन नचाहेको स्पष्ट पारेका छन्। देशलाई सही दिशामा नपुर्याएसम्म विश्राम नलिने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन्।
आइतबार साँझ जेनजी र राष्ट्रका नाममा सम्बोधन गर्दै संयोजक प्रचण्डले आफ्नो राजनीतिक यात्राबारे आत्ममूल्यांकन गर्दै भने, ‘यदि म धेरै अघि बिदा भएको भए सायद देशले मलाई नायकको रूपमा मात्रै सम्झिन्थ्यो होला। तर म खलनायक बनेर इतिहासको पानामा हराउन चाहन्नँ। म यो देशलाई सही दिशामा नपुर्याएसम्म विश्राम लिने छैन।’
उनले आफूलाई आज समाजले कुन दृष्टिकोणबाट हेर्छ भन्ने विषय नागरिकको स्वतन्त्र अधिकार भएको उल्लेख गर्दै आफ्नो योगदानको मूल्य समयसँगै अनुभूत हुने दाबी गरे। ‘तपाईंहरूले मलाई आज कुन रूपमा देख्नुहुन्छ, त्यो तपाईंहरूको अधिकार हो। तर मेरो अभावमा मेरो उपस्थितिको महसुस तब हुनेछ, जब तपाईंहरूले मैले कोरेका परिवर्तनहरूलाई भोग्नुहुनेछ,’ उनले भने।
संयोजक प्रचण्डले आफू हार मान्न तयार नभएको बताउँदै आफ्नो राजनीतिक जिम्मेवारी अझै पूरा भइनसकेको धारणा राखे। ‘म हार मान्न तयार छैन, किनकि मेरो काम अझै सकिएको छैन,’ उनले जोड दिए।
साथै, उनले आफू सधैं नयाँ विचार र नयाँ पुस्तालाई स्वागत गर्न तयार रहेको उल्लेख गर्दै समयअनुसार परिवर्तन आत्मसात गर्नु अपरिहार्य भएको बताए। तर, परिवर्तनको नाममा भ्रम र आवरणबाट सचेत रहन पनि आग्रह गरे।
‘हरेक चम्किलो चिज हिरा हुँदैन,’ भन्दै उनले डिजिटल युगमा सामाजिक सञ्जालमार्फत फैलिने भ्रमहरूले युवापुस्तालाई बहकाउन सक्ने चेतावनी दिए। ‘आजको डिजिटल युगमा सामाजिक सञ्जालका भ्रमहरूले तपाईंहरूलाई बहकाउन सक्छन्। कसैलाई तपाईंहरूलाई सानो महसुस गराउन नदिनुहोस्,’ प्रचण्डले भने।
उनको सम्बोधनमा राजनीतिक आत्मविश्वाससँगै नयाँ पुस्ताप्रति सन्देश, परिवर्तनको निरन्तरता र डिजिटल भ्रमप्रति सजगताको आग्रह स्पष्ट रूपमा देखिएको थियो।