नबिल बैंकको एजीएम सम्पन्न, अनिल केशरी शाह सञ्चालकमा निर्वाचित ,निर्वाण चौधरी अध्यक्ष

theoutsidenepal.com

काठमाडौं । नबिल बैंक लिमिटेडको आज सम्पन्न वार्षिक साधारणसभा (AGM) ले प्रख्यात बैंकर अनिल केशरी शाहलाई सञ्चालक समितिको सदस्य पदमा निर्वाचित गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) मनोज ज्ञवालीले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै शाहसँग सहकार्यको अवसर पाएकोमा खुशी व्यक्त गरेका छन्।


सीईओ ज्ञवालीका अनुसार, बैंकका अग्रज तथा गुरु आदरणीय उपेन्द्र पौड्यालले सञ्चालक समितिको अध्यक्षको जिम्मेवारीबाट विश्राम लिँदै आफ्नो दुई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका छन्। उनले पौड्यालको नेतृत्वकालमा बैंकले संस्थागत सुदृढीकरण र सुशासनका महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै योगदानप्रति हार्दिक आभार व्यक्त गरेका छन्।


आजै बसेको सञ्चालक समितिको बैठकले निर्वाण चौधरीलाई नबिल बैंकको नयाँ अध्यक्षमा निर्वाचित गरेको छ। सीईओ ज्ञवालीले चौधरीलाई अध्यक्षको जिम्मेवारी सफलतापूर्वक वहन गर्न शुभकामना दिँदै बैंकको निरन्तर प्रगतिमा नेतृत्वदायी भूमिका रहने विश्वास व्यक्त गरेका छन्।


साथै, अनिल केशरी शाहलाई सञ्चालकको रूपमा स्वागत गर्दै ज्ञवालीले उनको अनुभव र दूरदृष्टिले बैंकलाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको बताएका छन्।


नबिल बैंकले नेतृत्व तहमा भएको यस परिवर्तनलाई निरन्तरतासँगै नयाँ ऊर्जा र दृष्टिकोणको रूपमा लिएको जनाएको छ।


प्रतिक्रिया