सर्मिला थापा गुरुङद्वारा कांग्रेसको १५औँ महाधिवेशनमा युवा महिला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
काठमाडौं । द टन न्युज । विशेष रिपोर्ट
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृ सर्मिला थापा गुरुङले मधेश प्रदेशबाट युवा महिला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएकी छन्।
मधेशको माटोमा हुर्किएको युवा महिलाका रूपमा आफूले अन्तरमन, विश्वास र जिम्मेवारीको भावनासहित उम्मेदवारी दर्ता गराएको गुरुङले बताएकी छन्। उनले आफ्नो उम्मेदवारीलाई वर्षौंदेखि देखेको सपना र परिवर्तनको चाहनालाई जिम्मेवारीमा रूपान्तरण गर्ने प्रयासका रूपमा प्रस्तुत गरेकी छन्।
गुरुङले मधेशका अवसरको खोजीमा रहेका छोरीहरूको आवाज बन्ने तथा आफ्नै देशमा भविष्य निर्माण गर्न चाहने युवाहरूको प्रतिनिधित्व गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। साथै, राजनीतिलाई परिवर्तनको माध्यमका रूपमा हेर्ने आम नागरिकको विश्वासको सम्मान गर्ने उनको भनाइ छ।
“राजनीतिमा लिन होइन, दिइरहेको सेवा भावलाई अझ वृहत् र वृहत्तर बनाउन आएकी हुँ,” उनले आफ्नो स्टाटसमार्फत भनेकी छन्।
उनले राजनीतिक यात्रा सहज नभए पनि महाधिवेशन प्रतिनिधिहरूको विश्वास, साथ, माया र आशीर्वादले आफ्नो यात्रा थप अर्थपूर्ण बन्ने विश्वास व्यक्त गरेकी छन्।
पद प्राप्तिको आकांक्षाभन्दा माथि उठेर जिम्मेवारी वहन गर्ने र विश्वासको कदर गर्ने संकल्पसहित आफू अघि बढेको बताउँदै गुरुङले मधेशबाट उठेको युवा महिलाको आवाजलाई निर्णय र जिम्मेवारीको तहसम्म पुर्याउने उद्देश्य रहेको उल्लेख गरेकी छन्।
गुरुङले नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूसमक्ष आफ्नो उम्मेदवारीका लागि अमूल्य मत, साथ, सहयोग र आशीर्वादको अपेक्षा समेत गरेकी छन्।