एमालेका मनोनीत केन्द्रीय सदस्यले लिए शपथ, डा. अबुल हुसेन अन्सारीद्वारा जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता
द टन न्युज । काठमाडौं । १६ असोज २०८३
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीमा मनोनीत भएका नयाँ केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन्।
एमालेको असोज ५ देखि ८ गतेसम्म सम्पन्न केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले पार्टी विधानअनुसार ३३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको थियो। मनोनीतमध्ये १३ जना अन्य पार्टीबाट एमालेमा समायोजन भएका नेता रहेका छन्।
शपथ ग्रहण गर्ने ३३ जना केन्द्रीय सदस्यमा डा. अबुल हुसेन अन्सारी पनि रहेका छन्। अन्सारी यसअघि नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका थिए र हालै सम्पन्न केन्द्रीय कमिटी बैठकबाट एमालेको केन्द्रीय सदस्यमा मनोनीत भएका हुन्।
शपथ ग्रहणपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. अन्सारीले ऐतिहासिक दिनका रूपमा आजको दिनलाई स्मरण गरेका छन्। उनले आफूले लिएको पद तथा गोपनीयताको शपथलाई केवल औपचारिकतामा सीमित नराखी जीवन र व्यवहारमै लागू गर्ने प्रण व्यक्त गरेका छन्।
“यस ऐतिहासिक दिनमा मैले लिएको सपथलाई जीवन र व्यवहारमा लागू गर्ने प्रण गर्दछु!!”
उनले केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीलाई जनसेवा, पार्टीप्रतिको प्रतिबद्धता र संगठनात्मक भूमिकासँग जोड्दै आगामी दिनमा जिम्मेवारीपूर्वक अघि बढ्ने संकेत गरेका छन्।
शपथ समारोहमा अध्यक्ष ओलीले नयाँ केन्द्रीय सदस्यहरूलाई पार्टीले दिएको जिम्मेवारी पूरा गर्न सम्पूर्ण सामर्थ्य प्रयोग गर्न आग्रह गरेका थिए। साथै नेता–कार्यकर्ताको आचरण र व्यवहार नमुनायोग्य हुनुपर्नेमा जोड दिएका थिए।
शपथसँगै नयाँ जिम्मेवारीको औपचारिक सुरुवात
एमालेमा मनोनीत ३३ जना केन्द्रीय सदस्यले शपथ लिएसँगै उनीहरूको केन्द्रीय कमिटी सदस्यका रूपमा औपचारिक जिम्मेवारी सुरु भएको छ। यससँगै डा. अबुल हुसेन अन्सारीले पनि एमालेको केन्द्रीय नेतृत्वमा आफ्नो नयाँ राजनीतिक जिम्मेवारी सम्हालेका छन्।