संसद पुनःस्थापनाको बहसबीच जनमततर्फ लाग्न बास्कोटाको आग्रह, गठबन्धन राजनीति प्रति कटाक्ष
काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता गोकुल बास्कोटाले पछिल्लो राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै सर्वोच्च अदालतको निर्णय र संसद पुनःस्थापनाको चर्चाबीच अब नेताहरूले अनावश्यक अनुमानभन्दा जनमत सङ्कलनमा केन्द्रित हुनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमा राखेको स्टाटसमार्फत उनले चुनावी प्रतिस्पर्धालाई नै अन्तिम विकल्पका रूपमा प्रस्तुत गरेका छन्।
बास्कोटाले संसद पुनःस्थापनाको आशामा ‘हिउँ वर्षाएजस्तो’ अवस्था बनेको टिप्पणी गर्दै अब अनिश्चितता र अड्कलबाजीभन्दा चुनावी मैदान तताउनुपर्ने धारणा व्यक्त गरेका छन्। “जसलाई जित्नु छ, उसले जनतामाझ गएर मत बटुलोस्,” भन्ने सन्देश उनले दिएका छन्।
उनले गठबन्धन राजनीतिप्रति पनि व्यंग्य गर्दै नेताहरूबीचको ‘मनबन्धन’ भन्दा जनताको मन जित्नुपर्ने उल्लेख गरेका छन्। उनका अनुसार गठबन्धनले जनताको वास्तविक चाहना र मनोविज्ञान भत्काउन सहज नहुने संकेत गरेका छन्।
बास्कोटाले अन्त्यमा नेपाली राजनीतिको शैलीमाथि कटाक्ष गर्दै ‘म्याच फिक्सिङ’ को सम्भावनासमेत रहेको टिप्पणी गरेका छन्, जसलाई लिएर राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आउन थालेका छन्। उनका अभिव्यक्तिले चुनावी माहोल र गठबन्धन राजनीतिबारे नयाँ बहस सिर्जना गरेको देखिन्छ।