टी–२० विश्वकपको महायुद्ध आजदेखि : नेपाल ‘राइजिङ पावर’का रूपमा मैदानमा

theoutsidenepal.com

टी–२० विश्वकपको महायुद्ध आजदेखि : नेपाल ‘राइजिङ पावर’का रूपमा मैदानमा, सुपर–८ लक्ष्यसहित इंग्ल्यान्डसँग ऐतिहासिक भिडन्त


काठमाडौं । क्रिकेटप्रेमी विश्वले प्रतीक्षा गरेको आइसिसी टी–२० विश्वकपको दसौँ संस्करण शनिबारदेखि भारत र श्रीलंकामा भव्य रूपमा सुरु हुँदैछ। २० टोली सहभागी यस महाकुम्भ एक महिनासम्म चल्नेछ । उद्घाटन खेलमा टेस्ट राष्ट्र पाकिस्तान र नेदरल्यान्ड्स आमनेसामने हुँदैछन् । प्रतियोगिताको दोस्रो दिन आइतबार नेपालले दुईपटकको च्याम्पियन इंग्ल्यान्डसँग भिड्दै विश्वमञ्चमा आफ्नो शक्ति प्रदर्शन गर्नेछ ।

 नेपाल तेस्रोपटक विश्वकपमा, इतिहास रच्ने तयारी

नेपालले सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो । त्यसपछि लामो अन्तरालपछि पुनः विश्वकपमा फर्किएको नेपाल यसपटक तेस्रो सहभागितासँगै नयाँ इतिहास लेख्ने योजनामा छ । कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा रहेको टोलीले पहिलोपटक सुपर–८ मा पुग्ने महत्वाकांक्षी लक्ष्य राखेको छ ।

वानखेडे रंगशालामा नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुने नेपाल–इंग्ल्यान्ड खेलका टिकट ‘सोल्डआउट’ भइसकेका छन् । करिब ४० हजार दर्शक अट्ने मैदानमा नेपाली समर्थकको उत्साहले नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।

समूह चरणमा नेपालको चुनौती

समूह ‘सी’मा रहेको नेपालले आफ्ना चारवटै खेल मुम्बईस्थित वानखेडे रंगशालामै खेल्नेछ ।


  • पहिलो खेल : इंग्ल्यान्ड (आइतबार)
  • दोस्रो खेल : इटाली (२९ माघ)
  • तेस्रो खेल : वेस्ट इन्डिज (२ फागुन)
  • चौथो खेल : स्कटल्यान्ड (४ फागुन)


इटाली पहिलोपटक विश्वकपमा सहभागी हुँदैछ भने वेस्ट इन्डिज पूर्वविजेता टोली हो । कप्तान पौडेलले टेस्ट राष्ट्रलाई हराउँदै नयाँ कीर्तिमान रच्ने दृढ विश्वास व्यक्त गरेका छन् ।

२० टोलीको महाकुम्भ

यसपटक पनि विश्वकपमा २० टोली सहभागी छन् । इंग्ल्यान्ड, भारत, वेस्ट इन्डिज दुई–दुईपटकका च्याम्पियन हुन् । अस्ट्रेलिया, पाकिस्तान र श्रीलंका एक–एकपटकका विजेता हुन् । नेपालसँगै अफगानिस्तान, बंगलादेश, आयरल्यान्ड, अमेरिका, नेदरल्यान्ड्स, स्कटल्यान्ड, जिम्बावे, नामिबिया, ओमान, क्यानडा, युएई लगायत टोली सहभागी छन् ।


चार समूहमा विभाजित प्रतियोगितामा प्रत्येक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्नेछन् । सुपर–८ मा पुग्ने टोलीले अर्को विश्वकपमा सिधै स्थान बनाउनेछन् ।

एसिया प्यासिफिकबाट नेपालको दमदार छनोट

नेपालले एसिया प्यासिफिक छनोटमा कुवेतलाई ५८ रन र जापानलाई पाँच विकेटले हराउँदै समूह विजेता बनेको थियो । सुपर सिक्समा शीर्ष तीनमा रहेर नेपाल, ओमान र युएई विश्वकपमा छनोट भएका थिए ।

विवादले पनि छोयो विश्वकप

बंगलादेश–भारत भूराजनीतिक विवादले प्रतियोगिता सुरु हुनुअघि नै चर्चा पायो । सुरक्षा कारण देखाउँदै बंगलादेशले भारतमा खेल्न अस्वीकार गरेपछि आइसिसीले स्कटल्यान्डलाई अवसर दिएको छ । पाकिस्तानले पनि भारतविरुद्धको खेल नखेल्ने निर्णय गरेको छ । यस्तो अवस्थामा भारतले ‘वाकओभर’ पाउने सम्भावना छ । चर्चित भारत–पाकिस्तान खेल नहुँदा आइसिसीलाई करिब २५ करोड अमेरिकी डलर आर्थिक क्षति हुने अनुमान गरिएको छ ।

पुरस्कार राशि बढ्ने संकेत

८ मार्चमा समापन हुने विश्वकपको पुरस्कार राशि अझै सार्वजनिक भएको छैन । गत संस्करणमा विजेताले २.४५ मिलियन डलर पाएका थिए । यसपटक पुरस्कार राशि थप वृद्धि गर्ने तयारी रहेको आइसिसी स्रोतले जनाएको छ ।

‘राइजिङ नेपाल’को सपना

कप्तान रोहित पौडेल भन्छन्, “यसअघि समूह चरण पार गर्न सकेनौँ, तर यसपटक सुपर–८ हाम्रो लक्ष्य हो ।” खेलाडीको आत्मविश्वास र समर्थकको उत्साहले नेपाललाई विश्व क्रिकेटमा नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ ।

नेपालको पहिलो खेल नै विश्वकपको सबैभन्दा प्रतिक्षित खेलमध्ये एक मानिएको छ । अब सबैको नजर वानखेडे रंगशालातिर छ—जहाँ नेपाली क्रिकेटले इतिहास लेख्ने अवसर पाएको छ ।

प्रतिक्रिया