हरितालिकामा पशुपतिनाथमा भक्तजनको घुइँचो, बिहान ३ बजेदेखि चारै ढोका खुला

theoutsidenepal.com

हरितालिकामा पशुपतिनाथमा भक्तजनको घुइँचो, बिहान ३ बजेदेखि चारै ढोका खुला

द टन न्युज ॥ विशेष रिपोर्ट

हरितालिका तीजका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसरमा व्रतालु महिला भक्तजनको ठूलो भीड लागेको छ। भगवान् शिवको पूजा–आराधना र दर्शनका लागि देशका विभिन्न स्थानबाट आएका भक्तजनले बिहानैदेखि पशुपति क्षेत्रमा लामबद्ध भएर दर्शन गरिरहेका छन्।


हरितालिका व्रत बसेका भक्तजनको सहजताका लागि बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

भक्तजनको भीडलाई व्यवस्थित गर्दै सहज र सुरक्षित रूपमा दर्शन गराउने उद्देश्यले चारवटा छुट्टाछुट्टै दर्शन मार्ग सञ्चालनमा ल्याइएको छ।

पहिलो मार्ग मित्रपार्क–उमाकुण्ड–दक्षिणामूर्ति–कैलाश बद्रीनरसिंह भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट मन्दिरको उत्तरतर्फको र्‍याम्प हुँदै दर्शन गराएर पश्चिम ढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ।


दोस्रो मार्ग जयवागेश्वरी हुँदै दथुटोल, पाचा गणेश, अन्नपूर्ण भण्डार, महास्नानघर हुँदै आकासे पुलमार्फत भुवनेश्वरी र नासलचोक पुग्ने तथा शङ्कराचार्य मठअघिको मार्गबाट दुई लाइनमा भक्तजनलाई पश्चिमतर्फको काठको र्‍याम्पबाट दर्शन गराएर पश्चिम ढोकाबाट बाहिर निकाल्ने व्यवस्था गरिएको छ।

त्यस्तै, सिनामङ्गल तथा विमानस्थलतर्फबाट आउने भक्तजनका लागि तेस्रो दर्शन मार्ग सञ्चालन गरिएको छ। तिलगङ्गा पर्यटन काउन्टरसँगैको ढोका, राममन्दिर, वाग्मती किनारा हुँदै आर्यघाटको पुलबाट ब्रह्मनाल पुग्ने र पूर्वढोकाको र्‍याम्पबाट भगवान् पशुपतिनाथको पूर्व मुहार दर्शन गराएर सोही ढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ।


भक्तजनको सुरक्षा, भीड व्यवस्थापन तथा दर्शनलाई सहज बनाउन सुरक्षा निकाय र स्वयंसेवकसमेत परिचालन गरिएको छ।

हरितालिकाको पावन अवसरमा ‘महादेवको दर्शन, मनोकामना पूरा होस्’ भन्ने आस्थासहित हजारौँ महिला व्रतालु भक्तजन पशुपतिनाथमा पुगेका छन्।

आज पशुपति क्षेत्र श्रद्धा, आस्था, भक्ति र शिवमय वातावरणले गुञ्जायमान बनेको छ।


प्रतिक्रिया