पट्टायामा एनआरएनएद्वारा हरितालिका तीज भव्य रूपमा सम्पन्न
द टन न्युज । पट्टाया, थाइल्याण्ड ।
नेपाली कला, संस्कृति, परम्परा र आपसी एकताको सन्देश बोकेको हरितालिका तीज पर्व थाइल्याण्डको पट्टायामा भव्य रूपमा सम्पन्न भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्ड शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा थाइल्याण्डमा बसोबास गर्दै आएका नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा नेपाली महिलाहरूले तीजका मौलिक गीत, नृत्य तथा विभिन्न सांस्कृतिक प्रस्तुतिमार्फत नेपालीपनलाई जीवन्त बनाएका थिए।
पट्टायामा अहिलेसम्मकै उत्कृष्ट र विशेष तीज कार्यक्रमका रूपमा सम्पन्न कार्यक्रमलाई सफल बनाउन एनआरएनए थाइल्याण्ड शाखाका अध्यक्ष विष्णु पाण्डे, सचिव हिराकाजी श्रेष्ठ, एनसीसी थाइल्याण्डका सचिव प्रेम अधिकारी तथा विक्रम अधिकारी लगायतको विशेष भूमिका रहेको आयोजक पक्षले जनाएको छ। उनीहरूको सक्रिय समन्वय र व्यवस्थापनमा कार्यक्रमलाई व्यवस्थित, मनोरञ्जनात्मक तथा नेपाली संस्कृति झल्किने गरी सञ्चालन गरिएको थियो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा थाइल्याण्डमा बसोबास गर्दै आएका ६० वर्ष उमेर पूरा गरेका वृद्धा आमाहरूलाई सम्मान गरिएको थियो। नेपाली परम्पराअनुसार उहाँहरूलाई खादा लगाएर सम्मान गर्नुका साथै दर खुवाइएको थियो। विदेशमा रहेर पनि आफ्ना अग्रज आमाहरूलाई सम्मान गर्ने संस्कारलाई निरन्तरता दिँदै आयोजना गरिएको यो सम्मान कार्यक्रमले उपस्थित सबैको ध्यान आकर्षित गरेको थियो। अग्रज पुस्ताप्रतिको सम्मान र नयाँ पुस्तालाई नेपाली संस्कारसँग जोड्ने उद्देश्यले गरिएको यस पहलको सहभागीहरूले प्रशंसा गरेका थिए।
त्यस्तै, कार्यक्रममा गोर्खाली चेलीहरूका लागि विभिन्न मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको थियो। तीजका गीतमा सामूहिक नृत्य, सांस्कृतिक प्रस्तुति र आपसी भेटघाटले कार्यक्रमलाई थप उल्लासमय बनाएको थियो। विदेशमा रहेर पनि नेपाली चाडपर्वलाई आफ्नै घरआँगनमा मनाएजस्तो वातावरण सिर्जना भएपछि सहभागी महिलाहरू उत्साहित देखिएका थिए।
हरितालिका तीज केवल मनोरञ्जन र दर खाने पर्व मात्र नभई नेपाली मौलिक संस्कृति, परम्परा, सामाजिक सम्बन्ध र आपसी सद्भावलाई बलियो बनाउने अवसरसमेत हो। पट्टायामा आयोजित कार्यक्रमले विदेशमा रहेका नेपाली समुदायबीच एकता, आत्मीयता र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने सन्देश दिएको छ। विशेषगरी नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति, संस्कार र चाडपर्वसँग जोडिराख्न यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने सहभागीहरूको भनाइ थियो।
थाइल्याण्डमा रहेका नेपाली समुदायलाई एकै ठाउँमा जोड्दै नेपाली संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले प्रवासमा पनि नेपालीपन कति बलियो छ भन्ने देखाएको छ। अग्रज आमाहरूको सम्मानदेखि गोर्खाली चेलीहरूको उत्साहपूर्ण सहभागितासम्मको दृश्यले पट्टायाको तीज कार्यक्रमलाई स्मरणीय बनाएको आयोजक पक्षले जनाएको छ।