इतर पक्षमा ठूलो पहिरो, मिन विश्वकर्मासहित ५० भन्दा बढी नेता संस्थापन पक्षमा फर्किने

theoutsidenepal.com

इतर पक्षमा ठूलो पहिरो, मिन विश्वकर्मासहित ५० भन्दा बढी नेता संस्थापन पक्षमा फर्किने

द टन न्युज । काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको विभाजन, समानान्तर गतिविधि र राजनीतिक ध्रुवीकरणबीच इतर पक्षमा रहेका प्रभावशाली नेता मिन विश्वकर्मासहित ठूलो समूह संस्थापन पक्षमा फर्किने भएको छ । विश्वकर्मासहित १४औँ महाधिवेशनबाट निर्वाचित कम्तीमा ५० भन्दा बढी केन्द्रीय सदस्य अब सानेपास्थित कांग्रेसमै रहेर अघि बढ्ने निष्कर्षमा पुगेका छन् ।

नेता विश्वकर्माले सामाजिक सञ्जालमार्फत आफूहरूबीच लामो समयदेखि जारी संवाद निष्कर्षमा पुगेको संकेत गर्दै लेखेका छन्, ‘विचार मिल्नेसँग कुरा मिल्यो । कुरा मिल्नेसँग मन पनि मिल्यो । संवाद सम्पन्न, यात्रा प्रारम्भ । जयनेपाल ।’ उनको यो अभिव्यक्तिलाई इतर पक्षबाट संस्थापन पक्षमा फर्किने निर्णयको सार्वजनिक संकेतका रूपमा हेरिएको छ ।

विश्वकर्माले ‘सुनौलो नेपाल’सँग कुरा गर्दै वर्तमान राजनीतिक तथा कानुनी अवस्थाको मूल्यांकन गर्दा सानेपास्थित नेपाली कांग्रेस नै आधिकारिक कांग्रेस देखिएको बताएका छन् । अदालत र निर्वाचन आयोगबाट समेत सानेपा पक्षले मान्यता पाएको निष्कर्षसहित आफूहरू आधिकारिक पार्टीमै रहेर अघि बढ्ने निर्णयमा पुगेको उनको भनाइ छ । उनले भने, ‘अहिले सबै अवस्था हेर्दा सानेपा कांग्रेस नै आधिकारिक देखियो । अदालत र निर्वाचन आयोग सबैले मान्यता दिएको कांग्रेस यही हो । त्यसैले हामी आधिकारिक कांग्रेसमै लाग्यौं ।’

विश्वकर्माका अनुसार सानेपा पक्षले आगामी असोजमा महाधिवेशन गर्ने तयारी अघि बढाइरहेको छ । त्यसैले १४औँ महाधिवेशनबाट निर्वाचित इतर पक्षका ठूलो संख्याका केन्द्रीय सदस्यहरू पनि अब सानेपा कांग्रेसको महाधिवेशन सफल बनाउन सक्रिय हुनेछन् । उनले पार्टीको आधिकारिक संरचनामै रहेर आगामी महाधिवेशनलाई सफल बनाउनु अहिलेको प्राथमिकता भएको बताएका छन् ।

इतर पक्षबाट संस्थापनतर्फ फर्किने नेताहरूमा विश्वकर्मासहित पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री सुरेन्द्र पाण्डे, रामहरि खतिवडा, श्याम घिमिरे, नैनसिंह महर, उमेशजंग रायमाझी लगायतका नेता रहेको बताइएको छ । उनीहरूसहित कम्तीमा ५० भन्दा बढी १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य सानेपा कांग्रेसमै रहने विश्वकर्माको दाबी छ ।

यसअघि झण्डै एक महिनाअघि सम्पन्न इतर पक्षको राष्ट्रिय भेलामा विश्वकर्माले सक्रिय भूमिका निर्वाह गरेका थिए । उनलाई भेलामा प्रचारसम्बन्धी जिम्मेवारीसमेत दिइएको थियो । इतर पक्षका प्रभावशाली नेताका रूपमा लामो समयदेखि सक्रिय विश्वकर्मासहित ठूलो समूह संस्थापन पक्षमा फर्किने भएपछि कांग्रेसभित्रको शक्ति सन्तुलनमा महत्वपूर्ण परिवर्तन आउने देखिएको छ ।

विशेषगरी आगामी महाधिवेशनलाई केन्द्रमा राखेर कांग्रेसभित्र नेतृत्वका लागि नयाँ समीकरण निर्माण भइरहेका बेला इतर पक्षका प्रभावशाली नेताहरूको यो निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ । ठूलो समूह संस्थापन पक्षमा समाहित भएपछि महाधिवेशनको प्रतिनिधित्व, नेतृत्व चयन र आन्तरिक शक्ति समीकरणमा समेत प्रत्यक्ष प्रभाव पर्न सक्ने कांग्रेस नेताहरूको आकलन छ ।

यससँगै केही समयदेखि कांग्रेसभित्र देखिँदै आएको समानान्तर गतिविधिमा पनि नयाँ मोड आउने सम्भावना देखिएको छ । इतर पक्षमा रहेर पार्टीभित्र समानान्तर राजनीतिक गतिविधि गर्दै आएका नेताहरू अब आधिकारिक संरचनामै फर्किएर महाधिवेशन केन्द्रित गतिविधिमा लाग्ने भएपछि नेपाली कांग्रेसको आन्तरिक राजनीति थप चलायमान बन्ने देखिएको छ ।


प्रतिक्रिया