टी–२० विश्वकपका नेपाली खेलाडीलाई ओलीको शुभकामना, ‘नेपाल क्रिकेटको राइजिङ पावर’ बन्ने विश्वास

theoutsidenepal.com

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री, झापा–५ का उम्मेदवार केपी शर्मा ओलीले टी–२० विश्वकपमा सहभागी हुन लागेका नेपाली क्रिकेट टोलीलाई शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले नेपाली टोलीको प्रदर्शनले विश्वसामु नेपाललाई क्रिकेटको “राइजिङ पावर” का रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरेका हुन्।


अध्यक्ष ओलीले क्याप्टेन रोहित पौडेलको नेतृत्वमा रहेको टोलीले देशको शिर उच्च राख्ने उल्लेख गर्दै खेलाडीहरूको मिहिनेत, आत्मविश्वास र समर्पणले नयाँ इतिहास रच्ने बताएका छन्। उनले सम्पूर्ण नेपाली जनताका तर्फबाट खेलाडीहरूलाई उत्साह, हौसला र सफलताको कामना पनि व्यक्त गरेका छन्।


“टी–२० विश्वकपमा सहभागी हुन लागेका प्रिय नेपाली खेलाडीहरूलाई हार्दिक शुभकामना। तपाईंहरूको प्रदर्शनले विश्वले देख्नेछ कि नेपाल अब क्रिकेटको राइजिङ पावर हो,” ओलीले स्टाटसमा लेखेका छन्।


नेपाली क्रिकेट टोली विश्वकपको तयारीमा जुटिरहेको अवस्थामा विभिन्न राजनीतिक, सामाजिक तथा खेलकुद क्षेत्रका व्यक्तित्वहरूले पनि खेलाडीहरूलाई निरन्तर शुभकामना र समर्थन दिइरहेका छन्। ओलीको सन्देशले खेलाडीहरूलाई थप ऊर्जा र प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया