नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउने आईजीपी कार्कीको योजना, एआईदेखि एन्टि–स्क्याम सेन्टरसम्म
द टन न्युज
काठमाडौं । नेपाल प्रहरीलाई आधुनिक, प्रविधिमैत्री र समयानुकूल संगठनका रूपमा विकास गर्न कृत्रिम बौद्धिकता (एआई), ड्रोन तथा एन्टि–ड्रोन प्रविधि र ठगी नियन्त्रणका लागि विशेष संरचना विकास गर्ने योजना अघि बढाइएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले ७१औँ प्रहरी दिवसका अवसरमा यस्तो जानकारी दिएका हुन्।
शुक्रबार आयोजित प्रहरी दिवस समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउने, प्रहरी सेवालाई नागरिकमैत्री बनाउने र बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न आधुनिक प्रविधिको प्रयोग विस्तार गरिने बताए।
उनका अनुसार प्रहरी संगठनको कार्यक्षमता र अपराध नियन्त्रण प्रणालीलाई थप प्रभावकारी बनाउन एआई तथा एड्भान्स्ड एनालिटिक्स सेल, एरियल सेक्युरिटीअन्तर्गत ड्रोन तथा एन्टि–ड्रोन युनिट र इन्टिग्रेटेड एन्टि–स्क्याम सेन्टर स्थापना तथा विकास गर्ने योजना अघि बढाइएको छ। यी संरचनाले अपराध अनुसन्धान, हवाई सुरक्षा र प्रविधिको दुरुपयोगबाट हुने ठगी नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आईजीपी कार्कीले नेपाल प्रहरीको सुधार, विकास र सेवा प्रवाहमा योगदान पुर्याउने सञ्चारकर्मी, नागरिक समाज, समुदाय तथा सम्पूर्ण शुभेच्छुकप्रति आभार व्यक्त गरे। अमर प्रहरीहरूको बलिदानप्रति सम्मान व्यक्त गर्दै उनले नागरिकमैत्री, उत्तरदायी र प्रविधिमैत्री प्रहरी संगठन निर्माण गर्ने प्रतिबद्धता दोहोर्याए।
प्रहरी अस्पताललाई शिक्षण अस्पताल बनाउने लक्ष्य
प्रहरी कर्मचारी तथा सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्रहरी अस्पताललाई शिक्षण अस्पतालका रूपमा स्तरोन्नति गर्ने र भविष्यमा नेपाल प्रहरी मेडिकल कलेज स्थापना गर्ने लक्ष्यसमेत अघि बढाइएको कार्कीले बताए।
यस योजनाले प्रहरी कर्मचारी, उनीहरूका परिवार तथा आम नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच र गुणस्तरीय उपचार उपलब्ध गराउन सहयोग पुग्ने उनको भनाइ छ।
अनुशासन, जवाफदेहिता र समन्वयमा जोड
प्रहरी संगठनको प्रभावकारिता कायम राख्न आदेश शृङ्खला, अनुशासन, जवाफदेहिता र आपसी समन्वयलाई प्राथमिकतामा राख्नुपर्ने आईजीपी कार्कीले बताए। संगठनलाई अझ उत्तरदायी र प्रभावकारी बनाउन प्रहरी कर्मचारीसहित सबै सरोकारवालाको सहयोग आवश्यक रहेको उनले उल्लेख गरे।
७१औँ प्रहरी दिवसका अवसरमा आयोजित समारोहमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृतसमेत गरिएको थियो।
आधुनिक प्रविधिको प्रयोग, अपराध नियन्त्रणमा नवीन संरचनाको विकास र स्वास्थ्य सेवाको स्तरोन्नतिलाई अघि बढाउने योजनाले नेपाल प्रहरीको आगामी सुधार तथा सेवा प्रवाहको दिशालाई उजागर गरेको छ। यी योजनाको प्रभावकारिता भने कार्यान्वयन, आवश्यक स्रोतसाधन र परिणामका आधारमा मूल्याङ्कन हुनेछ।
द टन न्युज
Accuracy, Balance and Credibility