द टन न्युज ॥ विशेष रिपोर्ट
कांग्रेस १५औँ महाधिवेशनमा सीता सापकोटाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा
जनसम्पर्क समिति बेल्जियमकी पूर्वसभापति सापकोटाको महिला तर्फबाट उम्मेदवारी
काठमाडौं, १५ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा जनसम्पर्क समिति बेल्जियमकी पूर्वसभापति तथा नेपाली कांग्रेसकी महासमिति सदस्य सीता सापकोटाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।
सापकोटाले पार्टीको आगामी महाधिवेशनमा जनसम्पर्क समितिको तर्फबाट महिला कोटामा केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुभएको जानकारी दिनुभएको हो।
उहाँले नेपाली कांग्रेसको लामो लोकतान्त्रिक इतिहास र विरासतलाई आत्मसात गर्दै १५औँ महाधिवेशनलाई भव्य, सभ्य, मर्यादित र एकताबद्ध रूपमा सम्पन्न गर्नुपर्ने बताउनुभएको छ।
महाधिवेशनको संघारमा पार्टीभित्र नयाँ आशा र आकर्षण देखिएको उल्लेख गर्दै सापकोटाले विगतका कमी–कमजोरीको आत्मसमीक्षा गर्दै सकारात्मक पाठ सिकेर नेपाली कांग्रेसलाई समयको मागअनुसार नवीन, जिम्मेवार र सशक्त लोकतान्त्रिक शक्तिका रूपमा अगाडि बढाउनुपर्ने धारणा राख्नुभएको छ।
उहाँले महाधिवेशन प्रतिनिधि, पार्टीका अग्रज, नेता–कार्यकर्ता तथा कांग्रेसका सम्पूर्ण शुभेच्छुकलाई महाधिवेशनको सफलताको शुभकामना दिँदै प्रतिनिधि चयन प्रक्रिया बाँकी रहेका जिल्लामा समेत एकता, सहमति, सहकार्य र आपसी सद्भावका साथ प्रक्रिया सम्पन्न गर्न आग्रह गर्नुभएको छ।
डायस्पोराको प्रतिनिधित्वलाई प्राथमिकता
सापकोटाले नेपाली कांग्रेसले डायस्पोरामा रहेका तथा पार्टीका लागि योगदान गर्दै आएका नेपाली कांग्रेसका साथीहरूलाई समेत पार्टीको केन्द्रीय संरचनामा समेट्ने उद्देश्यले जनसम्पर्क समितिबाट एक महिलासहित ६ जना केन्द्रीय सदस्य हुने व्यवस्था गरेको उल्लेख गर्नुभएको छ।
यही व्यवस्थाअनुसार आफूले आगामी १५औँ महाधिवेशनमा महिला तर्फबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी प्रस्तुत गरेको उहाँले बताउनुभएको छ।
विदेशमा रहेर पनि नेपाली कांग्रेसको संगठन र गतिविधिमा सक्रिय रहँदै आउनुभएकी सापकोटाले जनसम्पर्क समिति बेल्जियमको सभापतिको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ। हाल उहाँ नेपाली कांग्रेसकी महासमिति सदस्य हुनुहुन्छ।
उम्मेदवारी घोषणा गर्दै सापकोटाले महाधिवेशन प्रतिनिधि तथा कांग्रेसका सम्पूर्ण नेता–कार्यकर्ताबाट साथ, सहयोग र विश्वास प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभएको छ।
उहाँले भन्नुभएको छ, “नयाँ सोच, नयाँ ऊर्जा र नयाँ संकल्पका साथ नेपाली कांग्रेसलाई समयको मागअनुसार अझ सशक्त र लोकतान्त्रिक शक्तिका रूपमा अगाडि बढाऔँ।”
डायस्पोरामा लामो समयदेखि पार्टी संगठनसँग जोडिएर काम गर्दै आएकी सापकोटाको उम्मेदवारीसँगै कांग्रेसको १५औँ महाधिवेशनमा विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट हुने प्रतिनिधित्वको विषय पनि थप चर्चामा आएको छ।