दानबहादुर कार्कीमाथिको आक्षेपले डराउनुपर्दैन : प्रकाश भुजेल

theoutsidenepal.com

दानबहादुर कार्कीमाथिको आक्षेपले डराउनुपर्दैन : प्रकाश भुजेल

काठमाडौं । चर्चित झाँक्री तथा सामाजिक अभियन्ता प्रकाश भुजेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि जस्तोसुकै आरोप–आक्षेप लागे पनि सत्य र इमान्दारिताको बाटोबाट विचलित हुन नहुने बताएका छन्।

भुजेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कार्कीले नेपाल प्रहरीमा सेवा गर्दा देखाएको इमान्दारिता, कर्तव्यनिष्ठा र राष्ट्रप्रतिको समर्पण आफूहरूले नजिकबाट देखेको उल्लेख गरेका छन्।

उनले कसैले आरोप लगाउँदैमा डराउनुपर्ने वा विचलित हुनुपर्ने कुनै कारण नरहेको भन्दै आईजीपी कार्कीलाई दृढताका साथ अघि बढ्न आग्रह गरेका छन्।

भुजेलले कार्कीलाई राष्ट्रवादी, समाजसेवी तथा देश र जनताको हितप्रति चिन्तित नेतृत्वका रूपमा चित्रण गर्दै कठिन परिस्थितिमा समेत सत्यको पक्षमा उभिनुपर्ने धारणा व्यक्त गरेका छन्।

‘कसैले आक्षेप लगाउँदैमा डराउनुपर्ने कुनै कारण छैन,’ भुजेलको भनाइ छ, ‘नेपाल प्रहरीमा तपाईंले देखाउनुभएको इमान्दारिता, कर्तव्यनिष्ठा र राष्ट्रप्रतिको समर्पण हामी सबैले देखेका छौँ।’

उनले कार्कीमाथि जस्तोसुकै आरोप वा आक्षेप लागे पनि सत्य र इमान्दारिताको बाटोमा दृढ भएर अघि बढ्न सुझाव दिएका छन्।

देश र जनताको हितमा कार्कीले पुर्‍याएको योगदानप्रति आफ्नो सम्मान र विश्वास सदैव कायम रहने बताउँदै भुजेलले आईजीपी कार्कीको नेतृत्वप्रति समर्थनसमेत जनाएका छन्।

भुजेलको यो अभिव्यक्ति पछिल्लो समय आईजीपी कार्कीलाई लिएर सार्वजनिक बहस र विभिन्न टिप्पणीहरू भइरहेका बेला आएको हो। उनले व्यक्तिको मूल्याङ्कन आरोप–प्रत्यारोपबाट नभई उसको काम, चरित्र, कर्तव्यनिष्ठा र राष्ट्रसेवाको भावनाबाट हुनुपर्ने सन्देश दिएका छन्।

‘सत्य र इमान्दारिताको बाटोमा दृढ भएर अघि बढ्नुहोस्, देश र जनताको हितमा तपाईंले पुर्‍याउनुभएको योगदानप्रति हाम्रो सम्मान र विश्वास सधैं कायम रहनेछ,’ भुजेलले भनेका छन्।


प्रतिक्रिया