कांग्रेसको १५औँ महाधिवेशन : ‘देशदेखि विश्वसम्म एउटै आवाज, अबको महामन्त्री डा. सुनिल शर्मा’
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र भइरहेका बेला पूर्वसांसद तथा कांग्रेस नेता डा. सुनिल कुमार शर्मा महामन्त्री पदका आकांक्षीका रूपमा अघि बढेका छन्।
चिकित्सा क्षेत्रसँगै राजनीति र सामाजिक सेवामा सक्रिय डा. शर्मा केएमसी अस्पताल तथा नोबेल अस्पतालसँग आबद्ध प्रमुख व्यक्तित्वका रूपमा परिचित छन्। कांग्रेसको आगामी महाधिवेशनलाई लक्षित गर्दै उनले पार्टीको महामन्त्री पदमा आफ्नो दाबी अघि बढाउने तयारी गरेको बताइएको छ।
डा. शर्माको उम्मेदवारीलाई लक्षित गर्दै उनका समर्थकहरूले ‘देशदेखि विश्वसम्म एउटै आवाज, अबको महामन्त्री डा. सुनिल शर्मा’ भन्ने नारालाई अघि सारेका छन्। उक्त नारामार्फत कांग्रेसको नेतृत्वमा नयाँ ऊर्जा, संगठनात्मक सक्रियता र जनतासँगको सम्बन्धलाई प्राथमिकता दिने सन्देश प्रवाह गर्ने प्रयास गरिएको छ।
१५औँ महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसभित्र नेतृत्वका विभिन्न पदमा आकांक्षी नेताहरूको सक्रियता बढेको छ। विभिन्न तहका नेता तथा प्रतिनिधिसँग भेटघाट, छलफल र आन्तरिक तयारी तीव्र भइरहेका छन्।
डा. शर्मा पूर्वसांसद हुनुका साथै स्वास्थ्य सेवा र सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्। महामन्त्री पदमा उनको सम्भावित उम्मेदवारीले आगामी महाधिवेशनमा नेतृत्वका लागि हुने प्रतिस्पर्धालाई थप बहुआयामिक बनाउने देखिन्छ।
महामन्त्री पदमा उम्मेदवारीसँगै डा. शर्माले संगठन सुदृढीकरण, युवा सहभागिता, स्वास्थ्य तथा सामाजिक क्षेत्रसँग पार्टीको सम्बन्ध विस्तारलगायतका विषयलाई आफ्नो राजनीतिक एजेन्डामा कसरी समेट्छन् भन्ने विषय महाधिवेशनको तयारीसँगै चासोको विषय बनेको छ।
द टन न्युज । विशेष रिपोर्ट