अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान

theoutsidenepal.com

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान

पुनर्निर्माण, FATF ग्रे लिस्ट र आर्थिक सुधारका विषयमा उच्चस्तरीय छलफल हुने

द टन न्युज । काठमाडौं । १७ असोज २०८३

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुईदिने औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको राजधानी वासिङ्टन डी.सी. प्रस्थान गरेका छन्।

विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा अर्थमन्त्री वाग्ले शुक्रबार राति वासिङ्टन डी.सी.तर्फ प्रस्थान गरेका हुन्। भ्रमणका क्रममा उनले विश्व बैंक, अमेरिकी अर्थ मन्त्रालय तथा इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (DFC) का उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। 

अर्थ मन्त्रालयका अनुसार असोज १९ र २० गते (अक्टोबर ५–६) हुने उच्चस्तरीय भेटवार्तामा नेपाल–अमेरिका द्विपक्षीय सहयोग अभिवृद्धि, पुनर्निर्माण, वित्तीय कारबाही कार्यदल (FATF) को ग्रे लिस्टबाट बाहिरिने नेपालको प्रयास तथा बृहत् आर्थिक सुधारका विषयमा छलफल हुनेछ। 

विशेषगरी हालै भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षति पुगेका भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण र भविष्यमा विपद्का जोखिम सामना गर्न सक्ने उत्थानशील पूर्वाधार निर्माणका लागि थप अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्ने विषय भ्रमणको महत्वपूर्ण एजेन्डा रहेको छ। 

त्यसैगरी सडक, विद्युत् प्रसारण लाइनलगायतका महत्वपूर्ण पूर्वाधारमा लगानी विस्तार गर्दै नेपालभित्र रोजगारी तथा आर्थिक अवसर सिर्जना गर्ने उद्देश्यले विकास साझेदार र अमेरिकी निजी क्षेत्रका लगानीकर्तासँग समेत छलफल हुने बताइएको छ।

अर्थमन्त्री वाग्लेले अमेरिकी सरकारी निकाय तथा निजी क्षेत्रका अग्रणी लगानीकर्तासँगको भेटमार्फत नेपालमा लगानीको वातावरण, आर्थिक सुधार र विकास वित्त परिचालनका सम्भावनाबारे छलफल गर्ने कार्यक्रम रहेको छ।

भ्रमणले भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि थप स्रोत परिचालन, पूर्वाधारमा लगानी विस्तार तथा नेपालको वित्तीय प्रणालीसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता र सुधारका विषयमा सहकार्य अघि बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया