कांग्रेस १५औँ महाधिवेशन : प्रतिमा गौतमले सहमहामन्त्रीमा उम्मेदवारी दिने
द टन न्युज | विशेष रिपोर्ट
काठमाडौं । नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले पार्टीको आगामी १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएकी छन्।
गौतमले आफू सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेको जानकारी खबरहबलाई दिएकी हुन्।
नेपाली कांग्रेसको विधानअनुसार सहमहामन्त्रीमध्ये एक पद महिलाका लागि अनिवार्य हुने व्यवस्था छ। सोही व्यवस्थाअनुसार गौतमले सहमहामन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गरेकी हुन्।
२०४६ सालको राजनीतिक आन्दोलनदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय गौतम पार्टीभित्र वैचारिक नेतृका रूपमा परिचित छिन्। लामो समयदेखि कांग्रेसको संगठनात्मक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएकी गौतमले पार्टीको नीति, संगठन र राजनीतिक विषयलाई नजिकबाट नियाल्दै आएकी छन्।
कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा विभिन्न पदमा नेताहरूले उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ। यही क्रममा गौतमले सहमहामन्त्री पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्ने तयारी गरेकी हुन्।
महाधिवेशनमा नेतृत्व चयनसँगै महिला सहभागिता, संगठन सुदृढीकरण, वैचारिक स्पष्टता र पार्टीको आगामी राजनीतिक दिशाबारे पनि बहस बढिरहेको छ।