कैलाली–४ मा नेतृत्वको खोजी भइरहेका बेला ‘आनन्द’को उदय

theoutsidenepal.com

कैलाली–४ मा नेतृत्वको खोजी भइरहेका बेला ‘आनन्द’को उदय

अत्तरिया । द टन न्युज । विशेष रिपोर्ट

कैलाली क्षेत्र नं. ४ मा नेपाली कांग्रेसको आगामी नेतृत्वबारे बहस र चर्चा भइरहेका बेला गोरखबहादुर बिष्ट ‘आनन्द’को राजनीतिक सक्रियता र उदयलाई चासोका साथ हेर्न थालिएको छ।

लामो समयदेखि कैलाली–४ मा नेपाली कांग्रेसको राजनीतिमा दीर्घराज भाटको महत्वपूर्ण भूमिका रहँदै आएको थियो। संगठन विस्तार तथा पार्टीका राजनीतिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका भाट पछिल्लो समय सक्रिय राजनीतिबाट विश्राम लिएपछि यस क्षेत्रमा अबको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा चर्चा सुरु भएको हो।


त्यस्तै, कैलाली–४ सहित सुदूरपश्चिमको राजनीतिमा लामो समयदेखि सक्रिय नेकपा एमालेका उपमहासचिव लेखराज भट्ट पनि यस क्षेत्रका परिचित राजनीतिक व्यक्तित्व हुन्। उनी सक्रिय राजनीतिमा रहेकै अवस्थामा नयाँ पुस्ताको नेतृत्व र राजनीतिक हस्तान्तरणबारे भने बहस अघि बढिरहेको छ।

यही राजनीतिक पृष्ठभूमिमा गोरखबहादुर बिष्ट ‘आनन्द’ नयाँ पुस्ताका नेताका रूपमा अगाडि आएका छन्। पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोरेपछि पनि उनले राजनीतिक सक्रियतालाई निरन्तरता दिँदै आएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेसँगै बिष्टको राजनीतिक चर्चा कैलाली–४ को सीमाभन्दा बाहिर पनि विस्तार भएको छ।

बिष्टले आफ्नो राजनीतिक गतिविधिलाई कैलाली–४ मा मात्र सीमित नराखी सुदूरपश्चिमको समग्र विकास, सम्भावना र राजनीतिक नेतृत्वसँग जोडेर अघि बढाउने प्रयास गरिरहेका छन्। विभिन्न देशको अवलोकन भ्रमणमार्फत त्यहाँका राजनीतिक अभ्यास, विकासका चरण तथा व्यवस्थापनका पक्षहरू अध्ययन गरेको बताउँदै उनले ती अनुभवलाई नेपालको स्थानीय आवश्यकता र विकाससँग जोड्नुपर्ने धारणा राख्दै आएका छन्।

ग्रामीण क्षेत्रका समस्या, स्थानीय आवश्यकता र विकासका सम्भावनालाई राजनीतिक बहसको केन्द्रमा राख्नुपर्ने उनको धारणा रहेको छ। विभिन्न क्षेत्रका व्यक्तिहरूसँग छलफल तथा अन्तरक्रिया गर्दै सुझाव संकलन गर्ने र प्राप्त सुझावका आधारमा आफ्ना राजनीतिक धारणा अघि बढाउने अभ्यासले पनि बिष्टलाई नयाँ पुस्तासँग जोडिएको नेताका रूपमा प्रस्तुत गरेको उनका समर्थकहरूको दाबी छ।

एउटै विषयमा केन्द्रित छलफल, गोष्ठी तथा सेमिनारमार्फत विभिन्न पक्षका राय–सुझाव संकलन गरी त्यसलाई राजनीतिक एजेन्डासँग जोड्ने प्रयास गर्दै आएका बिष्टले विकास र राजनीतिक नेतृत्वबारे आफ्ना धारणा सार्वजनिक गर्दै आएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेसँगै बिष्टको राजनीतिक यात्रा अब राष्ट्रिय पार्टी संरचनामा समेत परीक्षण हुने चरणमा पुगेको छ। कांग्रेसभित्र नयाँ पुस्ताको नेतृत्वबारे बहस भइरहेका बेला कैलाली–४ बाट बिष्टको नाम पनि चर्चामा आएको हो।

अबको चरणमा उनले प्राप्त गर्ने राजनीतिक समर्थन, संगठनसँगको समन्वय, निरन्तर सक्रियता र कार्यशैलीले उनको आगामी राजनीतिक यात्राको दिशा निर्धारण गर्नेछ। कैलाली–४ मा पुरानो पुस्ताको राजनीतिक योगदान र नयाँ पुस्ताको नेतृत्वबीचको संक्रमणका रूपमा बिष्टको सक्रियतालाई पनि हेरिन थालेको छ।

द टन न्युज । विशेष रिपोर्ट


प्रतिक्रिया